०९ साउन २०८३, शनिबार

लिपुलेकबारे भारत र चीनबीचको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि आघात पुग्यो- समाजवादी मोर्चा

भदौ ६, २०८२
काठमाडौं
लिपुलेकबारे भारत र चीनबीचको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि आघात पुग्यो- समाजवादी मोर्चा
फाइल फोटो

समाजवादी मोर्चा नेपालले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ ।

मोर्चाले आज प्रेस वक्तव्य जारी गर्दै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने उक्त सम्झौताप्रति विरोध तथा असहमति प्रकट गरेको छ ।

मोर्चाले कूटनीतिक पहलबाट सम्बन्धित मुलुकलाई सत्य तथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको भूभाग फिर्ता ल्याउन पहल गर्न सरकारसँग आग्रह गरेको छ । 'भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने र दुई पक्षीय व्यापार पुनःस्थापना गर्ने समझदारी भएकाप्रति ध्यानाकृष्ट भएको छ,' मोर्चाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

मोर्चाले ऐतिहासिक प्रमाण र द्विपक्षीय सन्धिले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्गका रुपमा रहेको जनाएको छ ।

नेपालको अभिन्न भूभागका रूपमा रहेका ती क्षेत्रमा विगत भारतीय पक्षको अतिक्रमण जारी रहेको जनाउँदै मोर्चाले कूटनीतिक प्रयासमार्फत अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारसँग आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्