
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले रक्षा गुप्तचर एजेन्सीका प्रमुखसहित तीन जना वरिष्ठ सैन्य अधिकारीलाई पदमुक्त गरेको छ । यो कदम इरानमाथि गरिएको अमेरिकी आक्रमणको प्रभावबारे प्रतिवेदनले ल्याएको विवादपछि आएको हो ।
पेन्टागनका अनुसार लेफ्टिनेन्ट जनरल जेफ्री क्रुज अब गुप्तचर एजेन्सीको नेतृत्वमा रहने छैनन् । उनीसँगै अमेरिकी नौसैनिक रिजर्भ प्रमुख र नेभल स्पेसल वारफेयर कमान्डका कमान्डरलाई पनि बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, रक्षा मन्त्रालयले तत्काल बर्खास्तीको कारण स्पष्ट गरेको छैन ।
गत जुन महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले डीआईएको चुहिएको प्रतिवेदनमाथि तीव्र असन्तुष्टि जनाएका थिए । प्रतिवेदनले अमेरिकाले इरानमाथि गरेको आक्रमणले परमाणु कार्यक्रमलाई केही महिना मात्र पछि धकेलेको उल्लेख गरेको थियो । तर, ह्वाइट हाउसले यस मूल्यांकनलाई ‘पूर्ण रूपमा गलत’ भन्दै खारेज गरेको थियो ।
राष्ट्रपति ट्रम्पले इरानका परमाणु स्थलगत संरचना ‘पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरेका थिए । उनले मिडियामाथि ‘इतिहासकै सफल सैन्य आक्रमणलाई बदनाम गर्ने प्रयास गरेको’ आरोप लगाएका थिए ।
रक्षामन्त्री पिट हगसेथले भने उक्त प्रतिवेदनलाई ‘कमजोर जानकारीमा आधारित’ भन्दै यसको चुहावटबारे एफबीआईले अनुसन्धान गरिरहेको बताएका थिए ।
क्रुजलाई पदमुक्त गरिएको समाचार पहिलोपटक द वाशिङटन पोस्ट मार्फत सार्वजनिक भएको हो । यसबारे बीबीसीले पेन्टागनसँग आधिकारिक प्रतिक्रिया मागेको जनाएको छ ।
यस घटनाबारे प्रतिक्रिया दिँदै अमेरिकी सिनेटर मार्क वार्नरले क्रुजको बर्खास्तीलाई राष्ट्रपतिले गुप्तचर संस्थालाई ‘देशको सुरक्षाभन्दा पनि निष्ठा परीक्षणको साधन’ बनाएको खतरनाक संकेतको रूपमा व्याख्या गरेका छन् ।
यसअघि पनि राष्ट्रपति ट्रम्पले आफ्नो मूल्यांकनसँग मेल नखाने अधिकारीहरूलाई निरन्तर बर्खास्त गर्दै आएका छन् ।
यसैक्रममा गत अप्रिलमा उनले राष्ट्रिय सुरक्षा एजेन्सीका निर्देशक जनरल टिमोथी हाफसहित करिब दर्जन अधिकारीलाई पदमुक्त गरेका थिए भने गत जुलाईमा श्रम तथ्यांक आयुक्त एरिका म्याकएन्टरफरलाई पनि हटाएका थिए ।