
आज आइतबार देशका विभिन्न जिल्लामा बाढीको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्ला भई बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । जसका कारण आकस्मिक बाढी आई मध्यम जोखिम हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने केही स-साना नदीको बहाव पनि उल्लेख्य बढ्ने सम्भावना छ । जसले गर्दा आकस्मिक बाढी आई मध्यम जोखिम निम्तिने सम्भावना मध्यम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ भने महाकाली नदीको बहाव सतर्कता तहआसपास छ । तर, दिउँसो बढ्ने सम्भावना छ ।