
दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष १९ का सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मोटरसाइकलको पछाडि बसेका थिए ।
त्यस्तै, दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ का प्रचण्ड थापा घाइते भएका छन् ।
उनलाई भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरिक्षक बमले बताए ।
गढवा गाउँपालिका–१, धोद्रे पुलनजिक आइतबार बिहान चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।