२५ जेठ २०८३, सोमबार

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

भदौ ८, २०८२
काठमाडौं
तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हरितालिका तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ पशुपति क्याम्पस एकाइ समितिले आज हरितालिका पर्वका अवसरमा आयोजना गरेको ‘सांस्कृतिक तथा दर खाने कार्यक्रम’मा उनले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताए ।

उनले तीजलाई केबल महिलाको पर्व नभई समाजलाई अनुशासित, मर्यादित र आस्थासँग जोड्ने माध्यमका रूपमा लिनुपर्ने बताए । 'कुनै धातु तरल अवस्थामा रहँदा जसरी पाइएको फ्रेमअनुसार आकार लिन्छ, विद्यार्थी पनि आजको दिनमा आफैंलाई जसरी तयार गर्छन्, त्यसरी नै भविष्य निर्माण हुन्छ, त्यसैले धर्म, संस्कृति र समाजको रक्षा गर्दै योग्य नागरिक बन्नु तपाईंहरूको जिम्मेवारी हो, तीज सबैले मिलेर मनाउने साझा पर्वका रूपमा स्थापित हुँदै गएको छ,' उनले भने ।

कार्यक्रममा योगमाया आयुर्वेद विश्वविद्यालयका उपकुलपति डा. रमेश ढुङ्गेलले तीजजस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई विश्वमञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 'हाम्रा पर्वहरूले राष्ट्रिय पहिचानलाई निरन्तरता दिनेमात्र होइन, विविधतामूलक संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने अवसर पनि प्रदान गर्छन्,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्