
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई सही विचारले नै सही दिशामा अघि बढाउने बताएका छन् । एमाले जिल्ला कमिटी बाँकेको पाँचौ पूर्णबैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई अघि बढाउन स्पष्ट दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक पर्ने बताएका हुन् ।
एमाले स्पष्ट नीति र दूरदर्शी नेतृत्व सहितको पार्टी भएको उनले दाबी गरे । समाज रूपान्तरण गर्ने पार्टीका लागि यो कुरा अनिवार्य रहेको उनको भनाय थियो ।
एमाले यतिबेला विधान अधिवेशनको तयारीमा जुटेको बताउँदै उनले विधानमा संशोधन गर्न लागिएका विषय पार्टी केन्द्रले तलसम्म पठाएको बताए । ती विषयमा तलबाट आएका सुझावलाई समेत समेटेर पार्टीले विधान संशोधन गर्ने पोखरेलले जानकारी दिए । पार्टीलाई अब मिसन २०८४ केन्द्रित गरेर अघि बढाउनु पर्ने उनले बताए । यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उनले जोड दिए । ‘एउटा लयमा हिँडेन भने त्यो प्रवाह अघि बढ्दै बढ्दैन, निर्णय हुनुअघि छलफल हुन सक्दछन्, पार्टीले निर्णय गरेपछि एउटै लयमा हिँड्न आवश्यक छ’, पोखरेलले भने ।
कार्यकर्ताबाट चलेका पार्टीले मात्र समाज बदल्न सक्ने पोखरेलको धारणा छ । बाहिरबाट सहयोग लिएर चलाएको पार्टीले काम गर्दै नगर्ने उनले धारणा राखे ।
संविधानको संरक्षक भइसकेका पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्कनु नहुने उनको धारणा छ । गणतन्त्रलाई विवादमा पार्नु हुँदैन भनेर एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर भनेको पोखरेलले स्पष्ट पारे ।
नेपालमा लोकतन्त्रको मानक एमाले भएको उनले दाबी गरे । त्यसैले कसले के गर्यो भन्दा पनि एमालेले के गर्छ भन्ने कुरा प्रमुख हुने उनको धारणा छ ।