
नयाँ सिजनको शुरूआतमै इटालियन सिरी ए फूटबलमा जातीय दुर्व्यवहारको चर्चा शुरू भएको छ । सिरी ए को पहिलो दिन युभेन्ट्स र पार्माबीच खेल भएको थियो । उक्त खेलमा युभेन्ट्सले पार्मालाई २–० गोलले हराएको थियो ।
सोही खेलका क्रममा आफ्ना एक खेलाडी वेस्टन म्याकेनीमाथि जातीय दुर्व्यवहार भएको आरोप युभेन्ट्सले लगाएको छ । ‘आफ्ना सहकर्मीहरूसँगै रहेका हाम्रा मिडफिल्डर म्याकेनीलाई जातीय दुर्व्यवहार गरिएको छ,’ युभेन्ट्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
२६ वर्षीय अमेरिकी मिडफिल्डर म्याकेनी सन् २०२० मा युभेन्ट्समा आबद्ध भएका हुन् । उक्त खेल युभेन्ट्सको घरेलु मैदानमा खेलिएको थियो । युभेन्ट्सले पार्माका समर्थकहरूबाट आफ्नो मिडफिल्डर जातीय दुर्व्यवहारको निशानामा परेको आरोप लगाएको छ ।
‘युभेन्ट्स कुनै पनि प्रकारको विभेदको घटनालाई सहने पक्षमा छैन । हामी जातीय दुर्व्यहारको यो घटनाको कडा शब्दमा निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
युभेन्ट्सले घटनाका दोषीहरूमाथि कडा कारवाहीको माग पनि गरेको छ ।
युरोपियन फूटबलमा पटक–पटक जातीय दुर्व्यवहारको घटना हुने गरेका छन् । इटालियन फूटबल पनि यस्ता घटनाबाट पीडित बन्दै आएको छ । सम्बन्धित राष्ट्रिय खेल संघका अतिरिक्त विश्व फूटबल महासंघ (फिफा) र युरोपेली फूटबल महासंघ (यूईएफए)ले यस्ता घटनालाई निरुत्साहित गर्न विभिन्न कदम चाल्दै आएका छन् ।
इटालियन सिरिएको आइतबार राति सम्पन्न पहिलो चरणको अन्य खेलमा नापोली, रोमा, क्रिमोनेज र कोमो विजयी भएका छन् । बलिया टोली मिलान र लाजियो भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् ।