
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जापान पारा फेडरेसनका पौडी प्रशिक्षक लगायतसँग भेट गरेका छन् ।
मन्त्री चौधरीले सोमबार जापान पारा फेडरेसनका पौडी प्रशिक्षक मसातो साकाई र यामानो काजुमोरीसँग मन्त्रालयमा भेटघाट गरेका हुन् ।
उनले केही दिनअघि मात्र अमेरिकी पारा खेलाडीको टोलीसँग भेटघाट गरेका थिए ।
नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठसहितको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्त्री चौधरीले अन्तर्राष्ट्रिय प्रशिक्षकलाई स्वागत गर्दै नेपाल पारा खेलाडीहरूको साहस र प्रतिबद्धतालाई राष्ट्रिय गौरवको रूपमा व्याख्या गरे । उनले नेपालका एक मात्र ओलम्पिक र पारा ओलम्पिक पदक विजेता पलेसा गोबर्द्धनको योगदान स्मरण गरे ।
‘पलेसाले दिएको पदक हाम्रो गौरव हो । उहाँको उपलब्धिले देखाउँछ, दृढता र परिश्रम भए नेपाल पारा खेलाडीले विश्वमञ्चमा पुनः झण्डा फहराउन सक्छन् । पारा खेलाडीहरू नेपालको अभिमान हुन्’, मन्त्री चौधरीले भने ।
कार्यक्रममा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी नेपालका संस्थापक प्रमुख तथा एसियाली पारा ओलम्पिक कमिटीको मेडिकल तथा खेल विज्ञान समितिका सदस्य डा. अशिम भण्डारीले खेलाडीहरूको स्वास्थ्य, वैज्ञानिक तालिम र एन्टी–डोपिङ पालना अपरिहार्य रहेको उल्लेख गरे ।
‘नेपाल अब केवल सहभागी मात्र होइन, पदक जित्ने राष्ट्रका रूपमा अघि बढ्दैछ । अन्तर्राष्ट्रिय सहकार्यले नेपाली पारा खेलाडीहरूको क्षमतालाई उजागर गर्नेछ’, उनले भने ।
भेटघाटले नेपाल–जापान सहकार्यलाई अझ मजबुत बनाउँदै २०२६ को पारा खेललाई लक्षित गर्ने साझा प्रतिबद्धता जाहेर गरेको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।