११ साउन २०८३, सोमबार

जीबी राईका जेठान धरौटीमा छुटेपछि असन्तुष्ट बने सहकारी पीडित

भदौ ९, २०८२
पाेखरा
जीबी राईका जेठान धरौटीमा छुटेपछि असन्तुष्ट बने सहकारी पीडित

सहकारी ठगीमा फरार जीबी राईका जेठान धरौटीमा रिहा भएपछि पोखराका सहकारी पीडित असन्तुष्ट बनेका छन् । सहकारी ठगीका आरोपी तथा राईका जेठान ज्ञानबहादुर बम्जन आइतबार कास्की अदालतबाट १० लाख  रूपैयाँ धरौटीमा रिहा भएका हुन् ।

अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि असन्तुष्ट बनेका सहकारी पीडितले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै सो आदेश खारेज हुनुपर्ने माग राखेका छन् । 

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितीका संयोजक किरण श्रेष्ठले अदालतले गरेको निर्णयमा प्रश्न उठाउँदै उक्त आदेश खारेज हुनुपर्ने माग गरे । साथै, उनीहरूले सरकारी वकिलको उपस्थितिविना ‘सेटिङमा आदेश भएको’ गम्भीर आरोप समेत लगाएका छन् ।

अदालतको आदेशमा भने सरकारी वकिलको तर्फबाट सहन्यायधिवक्ता सुजाता पौडेल उपस्थित भएको उल्लेख छ । बहसमा सरकारी वकिल उपस्थित भए वा नभएको प्रस्ट हुन सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने सहकारी पीडितको माग छ ।

डेढ करोड अपचलनका आरोपी १० लाखमा रिहा

सूर्यदर्शन सहकारी संस्थापक अध्यक्ष हुन ज्ञानबहादुर बम्जन । अभियोगपत्र अनुसार उनी अध्यक्ष रहँदा उनले १ करोड ५४ लाख ४९ हजार रूपैयाँ अपचलन गरेका छन् । 

मुद्दा परेपछि फरार रहेका बम्जन आफैं कास्की अदालतमा उपस्थित भएका थिए । न्यायाधीश शंकरकुमार राईको इजलासमा उनको थुनछेक बहस भएको थियो । 

‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सम्बन्धमा मैले ऋण/पेस्कीको रूपमा केही रकम रू. एक करोड उनान्तीस लाख तीन हजार सात सय चौध रूपैयाँ लगेको भनी प्रतिवेदनमा उल्लेख गरिएको छ । मैले उक्त रकम लिएको सत्य होइन’, बम्जनले अदालतको बयानमा भनेका छन् । 

यस्तै, आफू अध्यक्ष रहँदा सहकारीबाट श्रमको रूपमा मासिक २० हजार पारिश्रमिक बाहेक अन्य केही रकम पनि नलिएको उनको दाबी छ । आफू अध्यक्ष पदबाट बिदा भइसकेपछि संस्था के कसरी सञ्चालन भएकोबारे जानकार नभएको भन्दै उनी पन्छिएका छन् ।

‘म उक्त संस्थाको सञ्चालक समितिमा रहँदा सहकारी ऐन नियम अनुसार राम्रोसँग उक्त संस्था चलाएको हुँ । सो समयमा उक्त संस्था नाफामा चलेको र राम्रो बोनस दिएको थियो । मैले संस्था छोडेपछि पछिल्लो समयका समितिहरूबाट के कसरी सञ्चालन भयो? सो कुरा मलाई थाहा भएन’, बयानमा बम्जनले भनेका छन् । 

बम्जनलाई धरौटीमा रिहा गरेको विषयमा रुष्ट बनेका सहकारी पीडित रकम फिर्ता आउन सरकारले तदारुकता नदेखाएका कारण पनि आक्रोशित देखिन्छन् । एक/दुई जनालाई मात्र थुनेर सरकारले सहकारी ठगी विषयमा हात बाँधेर बसेको संयोजक श्रेष्ठको आरोप छ ।

‘रवि लामिछाने लगायतलाई थुनेर सरकार चुप लागेर बस्नु भएन, यसको मतलब यो होइन कि रविलाई छोड्देऊ । गलत छ भने थुन्न पर्ने ठाउँमा थुन । कारबाही गर्नुपर्ने ठाउँमा कारबाही गर । तर, एकजना मान्छेलाई लगेर थुन्ने अनि चुप लागेर हात बाँधेर बस्ने कुरा राम्रो होइन’, उनले भने ।

सरकारले पीडितको रकम फिर्ताका विषयमा पनि  काम थाल्नुपर्ने उनको भनाइ छ ।

‘दुई/चार जना थुन्ने अनि चुप लागेर बस्ने ! कि भटाभट थुनेपछि कारबाहीको प्रक्रिया पनि अगाडि बढाउनुपर्‍यो । मुद्दा फास्ट ट्रयाकमा लानुपर्‍यो । सबै कुरा त्यसरी नै अगाडि बढ्दै जान पर्‍यो । कि भटाभट पीडितलाई पैसा बाँड्न थाल्न पर्‍यो’, उनले थपे ।

अर्का सहकारी पीडित भीमप्रसाद चपाईं आफूले न्याय पाउनेमा संशय व्यक्त गर्छन् । आफूहरूको रकम राजनीतिक पार्टीका मान्छेले बाँडीचुँडी खाएको उनको टिप्पणी छ ।

‘हामीले न्याय पाउने कसरी ? यिनीहरूले सेटिङमा मिलेर हामी निमुखाको पैसा खाए । यहाँ व्यक्तिले खाएको छैन । जुनसुकै पार्टीको मान्छेहरूले बाँडीचुँडी खाएका छन् । जुन आउँछ ऊ राजनीतिमा जोडिएको छ’, चपाईंले भने ।

salt training

कमेन्ट गर्नुहोस्