
अब ५ हजार डलरसम्म विदेशी मुद्रा बोकेर नेपाल आउँदा भन्सार घोषणा गर्नु नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले नेपाली वा विदेशी नागरिकले साथमा ५ हजार डलरसम्म विदेशी मुद्रा बोकेर नेपाल आउँदा भन्सार घोषणा गर्नु नपर्ने जनाएको छ ।
सोभन्दा बढी रकम ल्याउँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरेर प्रमाणित गर्नुपर्ने व्यवस्था यथावत् राखिएको छ ।
अन्य विदेशी मुद्राको हकमा पनि ५ हजार अमेरिकी डलर बराबरको रकमभन्दा बढी भएमा घोषणा अनिवार्य हुने राष्ट्र बैंकले जनाएको छ ।
भारतीय मुद्राको हकमा पनि ५ हजार अमेरिकी डलरले हुन आउने नगदको मात्रै भन्सार घोषणाविना नेपाल भित्र्याउन सकिने छ ।
तर, भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नोट पनि नेपालभित्र ल्याउन, नेपालमै कारोबार गर्न वा साथमा राख्न नपाइने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
साथै, भारतीय रुपैयाँ नेपालबाट तेस्रो मुलुकमा लैजान वा तेस्रो मुलुकबाट नेपाल ल्याउन पनि अनुमति नरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।