दुई साताअघि मात्रै बेलायतको वेम्बली एरिनामा १० हजार दर्शकका अघिल्तिर नेपाली लोकरक प्रस्तुत गरेको नेपथ्य डेनमार्कमा पनि दर्शकबाट उत्तिकै माया पाउन सफल भएको छ । कार्यक्रम हुनु केही समय अगावै टिकट ‘सोल्ड आउट’ भइसकेको थियो ।
युरोपमा औद्योगिक युगको पुरानो वैभव सम्झाउने डेनमार्कको प्रसिद्ध कन्सर्ट थलो पुलेन हलमा शनिबार अटेसमटेस दर्शकदीर्घामा नेपाली राजदूतदेखि नेपाल आएका उक्त मुलुकका राजदूतहरूको सपरिवार उपस्थिति थियो ।
शान्त कोपनहेगन सहर मात्र नभई वरपरका युरोपेली मुलुक फिनल्यान्ड, जर्मनी, नर्वे, स्वीडेन र बेल्जियमदेखि समेत नेपथ्यप्रेमी तन्नेरी उत्साहसाथ जम्मा भएका थिए ।
कन्सर्टका लागि एक घण्टा अगावै अर्थात् बेलुकीको ठीक ६ बजे हलको ढोका खुल्नासाथ दर्शक चहलपहल शुरू भइसकेको थियो । जब पहिलो प्रस्तुतिका रूपमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो, हलभरिका दर्शकले उत्तेजना र उत्साहको आवाज गुन्जाउन शुरू गरिहाले । यो क्रम ब्यान्डका सदस्यहरू मञ्चमा आएपछि झनै बढ्यो ।
मुख्य गायक अमृत गुरुङले कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ सुनाउँदै गर्दा हलभरि चिच्याहट सुनियो नै, उठेका हातभरि चम्किरहेका मोबाइल फोनको बत्तीले पूरै हल झिलिमिली देखिएको थियो । यस क्रमले दुई घण्टा लामो कन्सर्ट अवधिसम्मै निरन्तरता पाइरह्यो ।
डेनमार्कमा नेपथ्यले आफूलाई नौ वर्षपछि उभ्याएको हो ।
नेपाली राजदूत सुम्निमा तुलाधरले यो कन्सर्ट मात्र नभएर नेपाली उत्सव बनेको प्रतिक्रिया दिइन् । ‘सङ्गीत प्रस्तुत गर्ने अमृत गुरुङको टिमदेखि व्यवस्थापन सम्हालेकासम्म सबैको काम गराइमा कतै पनि कमजोरी देखिएन’, उनी भन्दै थिइन्, ‘कार्यक्रमले देशबाहिर बसेका नेपालीलाई जोड्ने मात्र होइन, समुन्नत नेपालका लागि योगदान गर्न प्रेरणा पनि दिइरहेको थियो ।’
नातिसहित सपरिवार उपस्थित भएर नेपालका लागि डेनमार्कका पूर्वराजदूत गर्ट मेनकीसमेत कन्सर्टमा रमाइरहेका देखिन्थे । ‘आफ्नो मुलुकको परम्परागत सङ्गीतलाई उच्च व्यावसायिक ढङ्गसहित प्रस्तुत गर्ने नेपथ्य स्वयंमा समुन्नत पुरानो नेपाल र आउँदो भविष्य, नेपाल र संसारभरि फैलिएका उसको नयाँ पुस्ता अनि नेपाल र बाँकी विश्वबीच सानदार पुल बनेको महसुस गरेँ’, कन्सर्ट सकिएपछि गर्टको प्रतिक्रिया थियो, ‘मञ्चका कलाकार र हलभरिका दर्शक यसरी आपसमा घुलमिल भएर एकसुरले बाँधिएको कन्सर्ट विरलै देख्ने गरेको छु ।’
आफ्नो सधैँको स्वभावजस्तै ब्यान्डका मुख्य गायक एवं अगुवा अमृतले कन्सर्ट अवधिभर दर्शकसँग गीतका साथसाथै संवादलाई जारी राखे । ‘आज बाको मुख हेर्ने दिन कुशेऔँसी हो,’ उनी भन्दै थिए, ‘कुनै कारणवश घरमा फोन गर्न भ्याउनुभएको छैन भने गरिहाल्नुस् । मनमुटाव भएको छ भने पनि कुरा गरेर सुल्झाइहाल्नुस् ।’
फिनल्यान्डको हेलसिन्कीबाट आएकी व्योमा ताम्राकारका लागि कोपनहेगनमा नेपथ्यको कन्सर्ट हेर्न पाउनुले अर्को रमाइलो थपिरहेको थियो । ‘सन् २००६ मा हेलसिन्कीमा भएको नेपथ्यको कन्सर्ट अझै सम्झना छ,’ उनले उतिखेर र अहिलेको प्रस्तुति तुलना गर्दै भनिन्, ‘गीतदेखि दर्शकदीर्घासम्मको वातावरणले प्रत्येक सेकेन्डलाई अविस्मरणीय बनाइरहेको देख्दा यसपाला यस ब्यान्डप्रति मेरो आकर्षणले अर्को नयाँ उचाइ समातेको पाएँ ।’
उता नर्वेको राजधानी ओस्लोदेखि आएका प्रलय रिसाल यो कन्सर्ट सङ्गीतप्रेमीका लागि जीवनमा एकपटक लिनैपर्ने अनुभवको स्तरमा उभिएको सुनाइरहेका थिए ।
कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले स्वदेशमा स्कूल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गरिदिएर भए पनि देशप्रतिको दायित्व निभाइदिन दर्शकलाई अपिल गरेका थिए । यसरी सामाजिक दायित्वलाई सन्देशका रूपमा सुनाउँदासुनाउँदै पनि नेपथ्यले सर्वकालिक हिट गीतहरू नछुटाई दर्शकमाझ प्रस्तुत गरेको थियो ।
दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसुर्जे’ सुनाएपछि ब्यान्डले बिदा मागेको थियो ।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
डेनमार्कमा हासिल गरेको यो सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अब अर्को मुलुक माल्टा पुगेको छ । त्यस मुलुकको उत्तरी भेगमा पर्ने आटार्ड शहरस्थित ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’मा भोलि अगस्त २७ बुधबार नेपथ्यका गीतहरू गुन्जिनेछन् ।
त्यसपछि ब्यान्ड अगस्त ३१ आइतबार प्रस्तुत हुने गरी पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’मा कार्यक्रम राखिएको छ ।
युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन शहरमा हुनेछ । त्यहाँस्थित एईडी स्टुडियोजको स्टुडियो सेभेनमा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ ।
युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइटमार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।