
नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म गर्न लागेको विधान महाधिवेशनमा खर्च कटौती गर्न २३९२ प्रतिनिधिलाई दिनको एकपटक मात्रै खाना खुवाउने भएको छ ।
न्यूनतम् खर्चमा महाधिवेशन सम्पन्न गर्न एमालेले एक छाक मात्रै खाना खुवाउने र प्रतिनिधि आफैंले बस्ने प्रबन्ध गर्नुपर्ने व्यवस्था गरेको हो ।
‘हामी सकभर कम खर्चमा विधान महाधिवेशन सम्पन्न गर्ने पक्षमा छौं । यसैले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बिहानको खाना (एक छाक) मात्र खुवाउने र बस्ने व्यवस्था आफैं गर्नुपर्ने व्यवस्था गरेका छौं,’ एमाले सचिव डा. भीष्म अधिकारीले लोकान्तरसँग भने, ‘तीन दिनमा कहिलेकाहीँ बिहानका सेसन चल्दा खाजा खुवाउनेसम्मको व्यवस्था हुन सक्छ । तर, हामी यसपटक खर्च कम गर्ने पक्षमा छौं ।’
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि दुई दिन मात्रै खुवाउँदा धेरै खर्च नलाग्ने बताए ।
‘२० गते खाना खुवाउन पर्दैन । २१ गते र २२ गते बिहान दुईपटक मात्रै खान खुवाउने हो,’ गौतमले भने, ‘बस्ने व्यवस्था प्रतिनिधिले आफैं गर्नुपर्छ भनेका छौं ।’
तीन दिनसम्म चल्ने महाधिवेशनको समग्र व्यवस्थापन केन्द्रीय कार्यालयले नै गर्दैछ । तर, कति खर्च लाग्छ भनेर अहिले नै रकम नछुट्याइएको अधिकारी बताउँछन् ।
‘पार्टीको महाधिवेशन पछाडि विधान महाधिवेशन मुख्य पार्टी कार्यक्रम हो,’ अधिकारीले भने, ‘तर, हामीले पहिले नै खर्च यति लाग्ला भनेर रकम छुट्याएका छैनौं । कम खर्च गर्ने नीति रहेकाले खर्च भइसकेपछि मात्रै अंक आउँछ ।’
के फेरिँदैछ विधानमा ?
मुख्यगरी महाधिवेशन नेतृत्वमा मात्रै केन्द्रित हुने गरेपछि एमालेले नीतिको छुट्टै बहस गर्न खोजेको हो । यसैले नीतिगत बहस गर्ने थलोका रूपमा एमालेले विधान महाधिवेशन गर्न लागेको हो ।
पहिलो विधान महाधिवेशन २०७८ भदौ १५ देखि १७ गतेसम्म भएको थियो । विधान महाधिवेशन मुख्यतया नीतिसँग सम्बन्धित हुन्छ । पार्टीको आगामी कार्यदिशा, पार्टीको राजनीतिक–सैद्धान्तिक आधार, आर्थिक, सामाजिक, देशको परिस्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध, प्रतिस्पर्धी दलहरूलाई हेर्ने दृष्टिकोणसहितमा नीति तय हुनेछन् ।
महाधिवेशनमा अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । पार्टीले लिएको नीति, अभ्यास, यसको असर र प्रभावबारे ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।
यसबाहेक उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव पेश गर्नेछन् ।
पौडेलकै संयोजकत्वमा विधानको मस्यौदामाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल भइसकेको छ । सुझावका लागि तल्लो तहमा पठाइएको छ ।
त्यहाँबाट आउने सुझावका निष्कर्षलाई मूल प्रस्तावमा समेट्ने तयारी एमालेको छ ।
एमालेले विधान मस्यौदामा पदाधिकारी १९ बाट १५ झार्ने प्रस्ताव गरेको छ, जसमा वरिष्ठ उपाध्यक्ष नरहने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको आकार ३०१ बाट २५१ मा झार्न प्रस्ताव गरिएको छ । विधानका प्रस्तावलाई पनि सुझावका लागि तल्लो तहमा पठाइएको छ । सुझावसहित प्रतिवेदन महासमितिमा प्रस्तुत हुनेछ ।
गत साउन ६ गतेको एमाले केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेरहद र दुई कार्यालयको प्रावधान हटाउने निर्णय गरेको थियो । सोही निर्णयलाई विधान महाधिवेशनले अनुमोदन गर्न लागेको हो । मुख्य गरी पार्टी नेतृत्वकै चाहनाअनुसार ७० वर्षे र दुई कार्यकालको प्रावधान हटाउने निर्णयलाई महाधिवेशनले अनुमोदन गर्न लागेको हो ।
एमाले केन्द्रीय कमिटीको बैठक स्थगित
विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला एमालेले केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ । विधान संशोधनको मस्यौदामा प्राप्त सुझावलाई समेट्नका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको हो । केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कमिटीको बैठक स्थगित भएको जानकारी दिए ।
‘भदौ १३ गतेदेखि हुने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘अर्को बैठकबारे कुनै टुंगो लगाइएको छैन ।’
केन्द्रीय कमिटी बैठक स्थगित भए पनि भदौ २० देखि २२ गतेका लागि बोलाइएको विधान महाधिवेशन नसर्ने अधिकारीले बताए । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १८ गते चीन भ्रमणबाट फर्किएपछि विधान महाधिवेशन समयमै हुने अधिकारी बताउँछन् ।
प्रधानमन्त्री १८ गते चीनबाट फर्किएपछि भदौ १९ गते केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी प्रचार विभाग प्रमुख गौतमले दिए । ‘विधानको संशोधित मस्यौदामाथि संशोधनका लागि सुझाव आउने क्रम जारी छ,’ गौतमले भने, ‘यसैले १३ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक सारिएको छ । अब प्रधानमन्त्री फर्किएपछि १९ गते केन्द्रीय कमिटी बैठक बस्न सक्छ । तर, विधान महाधिवेशन सर्दैन ।’
साउन ६ गते एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नमिल्ने निर्णय गरेको थियो । यस्तो निर्णयको विरुद्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे उभिने तयारीमा छन् ।
यसअघि नै ज्ञवाली र पाण्डेले फरक मत दर्ज गरेका थिए । त्यतिबेला भण्डारीको विषयमा पोखरेलले फरक मत राखेका थिएनन् । तर, केही दिनअघि मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा तीनैजना नेता भण्डारीसँगै एउटै मञ्चमा देखिएका थिए ।
भण्डारीको सदस्यता नै खोसिएको भन्दै कतिपय जिल्लामा असन्तुष्टि देखिएको छ । असन्तुष्ट पक्षले भण्डारीलाई रोक्न खोजिएको विरोधमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइएको विषयलाई चर्काउन खोजेको छ ।
विधानको मस्यौदामा सुझाव दिँदा र छलफलका क्रममा पनि यो विषय उठाउने तयारीमा केही जिल्लाका भण्डारी समर्थित प्रतिनिधि रहेका छन् । तर, एमाले संस्थापनले भण्डारीको नाममा ध्रुवीकृत नहुन र पार्टीको लाइनमा उभिन पार्टी पंक्तिमा निर्देशन नै पठाएको छ ।
कहाँ पुग्यो तयारी ?
१० दिन मात्रै बाँकी हुँदा एमालेको विधान महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढाएको छ । २३९२ प्रतिनिधि सहभागी हुने नीतिगत विधान महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा अहिले धमाधम काम भइरहेको छ ।
एमालेको दोस्रो विधान महाधिवेशनमा २१२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २३९२ जना सहभागी हुँदैछन् । केही दिनअघि उपमहासचिव विष्णु रिमालले महाधिवेशन स्थल पुगेर तयारीको अवलोकन गरेका थिए ।
निरीक्षण गर्दै उनले व्यवस्थापनको कामलाई चुस्त र व्यवस्थित बनाउनका लागि आवश्यक सबै पक्षका बारेमा अध्ययन र विमर्श गरेको एमालेले जनाएको छ ।
केही दिनअघि मात्रै उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल नेतृत्वको टोलीले महाधिवेशन स्थलको निरीक्षण गरेको थियो ।
कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य विनोद श्रेष्ठ, सुशीला नेपाल, केन्द्रीय सदस्य निरज आचार्य, रुपनारायण श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीसहितको टोलीले महाधिवेशन स्थलको निरीक्षण गरेका थिए ।
सो निरीक्षणमा सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल, ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य, भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा लगायत नेता/कार्यकर्ताहरू पनि सहभागी भएका थिए ।
उनीहरूले मुख्य सभाहल, बैठक कक्षहरू, सचिवालय सञ्चालन कक्ष, फर्निचर व्यवस्था, सञ्चार सुविधाको व्यवस्था, मिडिया सेन्टर र मेडिकल टीमको व्यवस्थापन, खानेपानी व्यवस्था, गाडी पार्किङ स्थललगायत समग्र पाटोको निरीक्षण गरेका थिए ।