
कुनै बेला बियर र सामान्य रक्सीमा सीमित देखिने नेपाली बार संस्कृति अहिले विश्वस्तरमा प्रतिस्पर्धा गर्न थालेको छ ।
स्थानीय तितौरा, इलामे चिया र परम्परागत ऐलालाई मार्टिनी गिलासमा कलात्मक ढंगले प्रस्तुत गर्दै नेपाली बारटेन्डरहरूले अन्तर्राष्ट्रिय ककटेल संस्कृतिमा मौलिक पहिचान बनाएका छन् ।
स्थानीय स्वाद र अन्तर्राष्ट्रिय प्रविधिको यो अद्वितीय संयोजनले नेपाली ककटेल बारहरूले ‘एसियाकै उत्कृष्ट’ जस्ता प्रतिष्ठित पुरस्कार जित्दै विश्वव्यापी पहिचान बनाइरहेका छन् ।
पछिल्ला पाँच वर्षमा काठमाडौंको ककटेल संस्कृतिमा उल्लेख्य परिवर्तन आएको छ । विदेशमा अनुभव बटुलेर फर्किएका युवा बारटेन्डरहरूले यस क्षेत्रलाई नयाँ उचाइमा पुर्याएका छन् । एजेन्सी फ्रान्स प्रेस(एएफपी)ले यसबारे समाचार स्टोरी लेखेको छ ।
काठमाडौंका एक बारटेन्डरले मार्टिनी गिलासमा स्थानीय स्वादले भरिपूर्ण तितौराको टुक्रालाई कलात्मक ढंगले सजाइरहेको दृश्य अब नौलो होइन । यो नेपालका नयाँ ककटेल बारहरूको बदलिँदो र विकसित अनुहारको प्रतीक हो, जसले विश्वव्यापी ककटेल संस्कृतिमा मौलिक नेपालीपन भर्दै अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप छोड्न सफल भएका छन् ।
सिंगापुरको जागिर छाडेर काठमाडौंमा बार शुरू गरेका अभिषेक तुलाधर भन्छन्, ‘हामीसँग यस्ता सामग्री र प्रतिभा छन्, जसलाई गर्वका साथ विश्वसामु प्रस्तुत गर्न सक्छौं ।’

तुलाधरको ‘बार्क’ (Barc) ले यसै वर्ष ‘एशियाज ५० बेस्ट बार्स’ अन्तर्गत ‘मिक्टर्स आर्ट अफ हस्पिटालिटी अवार्ड’ जित्दै नेपालका लागि पहिलो ऐतिहासिक सफलता हात पारेको छ । सोही सूचीमा यो बार ३५औं स्थानमा समेत परेको छ । यस बारमा इलामे चिया, तितौरा, खट्टु, ऐला लगायत नेपाली स्वादलाई प्राथमिकता दिइन्छ ।
तर यो यात्रा सहज भने थिएन । ‘बिटर्स एन्ड को’का सञ्चालक रविन गुरुङका अनुसार ककटेलका लागि आवश्यक कागती पाउन महिनौं लाग्थ्यो । बजारमा निबुवा मात्र पाइने भएकाले उनले उपयुक्त सामग्री खोज्न निकै मिहिनेत गर्नुपर्यो ।
आयातित सामग्री अभाव र महँगीले बार उद्योगलाई अझ सिर्जनशील बनाएको ठमेलमा ‘ब्ल्याकबर्ड’ र ‘लाया’ सञ्चालन गर्ने सन्तोष फाइजाले बताए । उनका अनुसार, अहिले बारटेन्डरहरूले विशेष किसिमको बरफ, घरेलु बिटर र लालीगुराँसजस्ता स्थानीय जडीबुटीबाट बनेका सिरप आफैं बनाउन थालेका छन्।
काठमाडौंको ‘ओल्ड हाउस’का लागि मेनु डिजाइन गरेका अनुभवी भारतीय बारटेन्डर याङ्दुप लामा भन्छन्, ‘नेपाली ककटेलमा एउटा ‘वाह’ प्रभाव छ, जसले उपभोक्ताहरूलाई उत्साहित बनाएको छ ।’
ककटेलप्रतिको बढ्दो आकर्षणले नयाँ लगानी भित्र्याएको छ र बारटेन्डिङलाई सम्मानित पेसाको रूपमा स्थापित गराएको छ । फाइजाका अनुसार अब मानिसहरूले आफ्नै देशमा परिवारसँगै बसेर यस पेसालाई रोज्न थालेका छन् ।
‘अब विस्तारै बारटेन्डिङलाई पनि एउटा सम्मानित पेसाको रूपमा हेर्न थालिएको छ, जसले गर्दा मानिसहरू आफ्नै देशमा, आफ्नै परिवारसँग बसेर काम गर्न सक्छन्’, फाइजाले भने ।
‘एशियाज ५० बेस्ट बार्स’की कन्टेन्ट प्रमुख एमा स्लाइट नेपालको उदीयमान बार संस्कृतिमा बलियो सम्भावना देख्छिन् । उनी भन्छिन्, ‘नेपाली आतिथ्य, यहाँको समृद्ध संस्कृति, अद्भुत सामग्रीहरू र मानिसहरूको जोशको संयोजनले साँच्चै केही अद्वितीय पहिचान बनेको छ ।’