२४ जेठ २०८३, आइतबार

भारतीय क्रिकेटमा नयाँ कानूनको प्रभाव : विराट कोहलीलाई वार्षिक २ सय करोड घाटा, रोहितदेखि बुमराहसम्मको आम्दानीमा असर

भदौ ११, २०८२
काठमाडौं
भारतीय क्रिकेटमा नयाँ कानूनको प्रभाव : विराट कोहलीलाई वार्षिक २ सय करोड घाटा, रोहितदेखि बुमराहसम्मको आम्दानीमा असर

भारत सरकारले नयाँ कानून लागू गरेपछि त्यसको सबैभन्दा ठूलो प्रभाव भारतीय क्रिकेटमा देखिएको छ । अनलाइन गेमिङमाथि प्रतिबन्ध लगाउने कानून लागू भएपछि राष्ट्रिय क्रिकेट बोर्डसँगै खेलाडीहरूको आम्दानीमा पनि ठूलो धक्का लागेको हो ।

यो कानून लागू भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मात्र तीन सय ५८ करोड भारतीय रुपैयाँको प्रायोजन गुमाएको छ । भारतीय क्रिकेट टोलीलाई ड्रिम–११ ले प्रायोजन गर्दै आएको थियो । ड्रिम–११ अनलाइन जुवा सञ्चालन गर्ने कम्पनी हो ।

भारत सरकारले कानून बनाएरै अनलाइन जुवामाथि प्रतिबन्ध लगाएको छ । यसका अतिरिक्त नयाँ कानूनले भारतीय क्रिकेट खेलाडीको आम्दानीमा पनि ठूलो धक्का लागेको छ । आगामी दिनमा इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि अनलाइन जुवाको प्रचार गर्न पाइने छैन ।

भारतीय क्रिकेटर विराट कोहली, रोहित शर्मा, हार्दिक पाण्ड्या, महेन्द्रसिंह धोनी, सुरेश रैनालगायतले लामो समयदेखि अनलाइन जुवाको विज्ञापनबाट करोडौं रुपैयाँ आम्दानी गर्दै आएका थिए । रोहित शर्मा, जसप्रित बुमराह, हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले ड्रिम–११ को प्रचार गरेवापत मोटो रकम हात पार्थे ।

यसैगरी, मोहम्मद सिराज, शुभमन गिल र यशस्वी जैसवालले माई–११ सर्कल एपको प्रचारमा सक्रिय थिए । विराट कोहली एमपीएल र महेन्द्रसिंह धोनी विन्जो एपसँग जोडिएका थिए । समाचारमा जनाइए अनुसार, एमपीएलको विज्ञापन गरेवापत कोहलीले प्रत्येक वर्ष करिब दुई सय करोड भारतीय रुपैयाँ आम्दानी गर्थे ।

यसैगरी, रोहित शर्माले ड्रिम–११ को विज्ञापनबाट वार्षिक करिब ६० करोड भारतीय रुपैयाँ आम्दानी गर्थे । अनलाइन जुवामा प्रतिबन्ध लागेपछि त्यसको असर फ्रेन्चाइज प्रतियोगिता आईपीएलमा पनि पर्ने भएको छ ।

माई–११ सर्कल आईपीएलको आधिकारीक प्रायोजक पनि हो । यो कम्पनीबाट बीसीसीआईले वार्षिक एक सय २५ करोड भारतीय रुपैयाँ प्राप्त गर्थ्यो । बीसीसीआईले यो संस्थासँग पाँच वर्षका लागि सम्झौता गरेको थियो ।

आईपीएल क्लब कोलकाता नाइट राइडर्स, लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादले पनि प्रायोजन बापत अनलाइन जुवा सञ्चालन गर्ने कम्पनीबाट वार्षिक रुपमा १० देखि २० करोड भारतीय रुपैयाँ प्राप्त गर्दै आएका थिए ।

अनलाइन जुवामा प्रतिबन्ध लागेपछि क्रिकेटसँग जोडिएका संस्थाहरूले वार्षिक रूपमा आठ हजारदेखि १० हजार करोड भारतीय रुपैयाँसम्म नोक्सानी ब्यहोर्नु पर्ने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्