२५ असार २०८३, बिहीबार
संघीय निजामती विधेयक

‘कुलिङ अफ पिरियड’ विवादबारे राष्ट्रिय सभाको समितिमा दफावार छलफल शुरू

भदौ ११, २०८२
काठमाडौं
‘कुलिङ अफ पिरियड’ विवादबारे राष्ट्रिय सभाको समितिमा दफावार छलफल शुरू

प्रतिनिधि सभाबाट पारित हुँदा संघीय निजामती विधेयकबाट हराएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी विषयबारे राष्ट्रिय सभाको समितिमा छलफल शुरू भएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बुधबारदेखि विधेयकमाथि दफावार छलफल शुरू भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको उपस्थितिमा दफावार छलफल शुरू भएको हो ।

विधेयकमाथि सैद्धान्तिक छलफल भइसकेकाले अब दफावार छलफल गरेर विधेयक टुंगो लगाइने विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् ।

समिति सदस्य सुरेश आले मगरले भदौ १७ गतेभित्र विधेयक टुंगो लगाउनेगरी छलफल शुरू भएको जानकारी दिए ।

प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयक राष्ट्रिय सभाले २ महिनाभित्र सन्देशसहित प्रतिनिधि सभामा पठाउनु पर्नेछ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा एसका सांसदहरू ‘कुलिङ अफ पिरिडय’सम्बन्धी व्यवस्था राखेर विधेयक पारित गर्नुपर्ने पक्षमा छन् । सत्तारूढ नेकपा एमालेका सांसदहरूले भने सो व्यवस्था आवस्यक नरहेको भन्दै संशोधन दर्ता गराएका छन् ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन र राज्य व्यवस्था समितिले पठाएको पत्रलाई पनि राष्ट्रिय सभाको समितिले नोटिसमा लिएको छ ।

प्रतिनिधि सभाबाट पारित हुँदा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्था गायब भएपछि संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । विशेष समितिले प्रतिनिधि सभाबाट पारित भएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्था हट्नुमा सभापतिले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

निजामती सेवामा ‘कुलिङ पिरियड’ भनेको सरकारी कर्मचारीले सेवाबाट अवकाश लिएपछि निश्चित समयावधिसम्म सरकारी नियुक्ति वा  कुनै पनि निकायमा लाभजनक रोजगारी वा प्रभावशाली भूमिकामा संलग्न हुन नपाउने नियम वा प्रावधान हो ।

salt training

कमेन्ट गर्नुहोस्