
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भेटवार्ता भएको छ ।
भेटवार्तामा मुख्यमन्त्री कार्कीले नेपाल र इजरायलबीच ऐतिहासिक मित्रताको सम्बन्ध रहेको चर्चा गर्दै यसलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले कृषि, श्रम, रोजगार, स्वास्थ्यलगायत क्षेत्रमा इजरायलसँग सहकार्य हुँदै आएको बताउँदै नेपाली मुख्यतया कृषि र ‘केयर गिभर’ (हेरचाहकर्ता)का रूपमा इजरायलमा कार्यरत भएकाले यसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।
नवप्रवर्तन र प्रविधि हस्तान्तरणमा इजरायलको अनुभव नेपालका लागि उपयोगी हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पनि इजरायल सरकारसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । इजरायलको आधुनिक कृषि प्रविधिका माध्यमबाट भएको प्रगतिको प्रशंसा गर्दै उनले कोशी प्रदेश कृषि उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकाले सहकार्यको लागि तयार रहेको बताए ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषिमा उद्यमशीलता विकास गर्न ब्याज अनुदान दिएर युवालाई कृषि पेसामा आकर्षित गर्ने योजना ल्याएको जानकारी गराए । उनले प्रदेशका कृषकलाई शैक्षिक र व्यावहारिक तालिमको व्यवस्था गर्न सके कृषिका माध्यमबाट आर्थिक विकासमा योगदान पुर्याउन सकिने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरे । उनले भने, 'कोशी प्रदेश सरकार महामहिम राजदूतमार्फत जोशीको रिहाइको लागि आग्रह गर्दछ ।'
मनमोहन प्राविधिक विश्वविद्यालय बूढीगङ्गा मोरङ, गौरादह कृषि क्याम्पस झापालगायत प्रदेशका कृषि क्याम्पसहरूसँग सहकार्य गरेर अगाडि बढ्नका लागि पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे ।
सो अवसरमा इजरायली राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध पुरानो र प्रगाढ रहेको धारणा राखे ।
उनले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालादेखि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको बताए ।