
पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिन्छिन् ५५ वर्षीया मनमाया थापा मगर र उनकी २३ वर्षीय छोरा पूर्णबहादुर ।
पूर्णबहादूर पूर्ण अपाङ्ग छन् । न उनको दृष्टि छ न त शरीर चल्छ । बोली पनि छैन । टहरा बनाउने थोरै जग्गा पनि आफन्तले उपलव्ध गराएका हुन् । झरीको बेला भित्ताबाट रसाएको चिसोले पूर्णको ओछ्यानसम्मै भिज्छ । भूइँमा ओछ्याइएको म्याट्रेसमा काठको मुढोझैँ पल्टिरहेका हुन्छन् पूर्ण ।
जसरी चिसोले रसाइरहन्छ भित्तो । त्यसरी नै २३ वर्षदेखि मनमायाको आँखा रसाइरहेको छ । उनलाई थाहा पनि छैन कि उनका आँखा कहिले ओभाउने हुन् । “छोरा जन्मिँदै अपाङ्गता देखियो”, उनले भनिन्, “त्यसयताका कुनै दिन मेरा लागि चाडबाड, रमाइलो, साथीभाई आफन्त रहेन, यही छोराको स्याहार गर्दैमा जिन्दगी बित्दो छ ।”
छोरालाई ओछ्यानमै ख्वाउनुपर्छ । छोराको उमेरसँगै तौल बढ्दै गएपछि मनमायाले दिसापिसाब गराउन सक्दैनन् । “आफैँले सोहोरेर फाल्ने गरेकी छु”, उनले सुनाइन् । बिहान उठेदेखि रातिसम्म छोराको हेरचाह गर्नु उनको दैनिकी हो । हुन त कुन आमालाई सन्तानप्रतिको माया नहोला र ? तर छोराप्रति आमाको माया बुझ्न मनमायाको वास्तविकता हेरे पुग्छ । उनीहरुलाई देख्ने जोकोहीको आँखा रसाउँछ ।
“छोरो सानो हुँदा त दिसापिसाब गर्न बोकेर शौचालय लैजान्थेँ । अब त छोरो ठूलो भयो, मेरो पनि उमेर ढल्कँदो छ । बोक्नै सक्दिन”, उनले भनिन्, “विस्तारामै फोहर गर्छ । जति सफा गरेपनि पुग्दैन । हिजोआज त कोठा नै गन्हाउन थालेको छ ।”
जब छोरालाई भोक लाग्छ अनि घुरे जस्तो आवाज निस्किन्छ । त्यसपछि खाना ख्वाउन्छिन् मनमाया । छोराले कमाएर दिने अवस्थामा उसैको स्याहारसुसार गर्नुपर्दा दुःख लाग्ने उनी बताउँछिन् । तर आफ्नै कर्मलाई दोष दिँदै चित्त बुझाउँछिन् मनमाया । पूर्णका बुवा लक्षु थापा मगर एक निजी विद्यालयको बस चालक हुन् । श्रीमानको कमाइकै भरमा घर चलेको छ । तर त्यो पर्याप्त अवश्य छैन ।
त्यसो त पूर्णबहादुर मनमाया र लक्षुको पहिलो सन्तान हैन । पाँच छोरामध्ये कान्छो हुन् पूर्ण । जन्मजातनै अपाङ्गता देखिएपछि एक महिनासम्म गण्डकी अस्पतालमा उपचारका लागि राख्दा पनि कुनै सुधार भएन । टहरादेखि बाहिर निकाल्दा उकालो उक्लनुपर्दछ । छोरोलाई एक संस्थाले दिएको ह्विलचेयरसमेत काम लागेन । आर्थिक अभावका कारण उपचारमा ‘फलोअप’का लागि कतै लैजान नसकेको पनि वर्षौँ बितिसकेको छ ।
पूर्णको नाममा (क) श्रेणीको अपाङ्गताबापत्को सुरक्षा भत्ता प्राप्त हुन्छ । सो भत्ताले केही हदसम्म पालनपोषणमा सहयोग पुगेको पूर्णका बाबु लक्षु थापामगरले बताए ।
जग्गा पाउने होभने जेनतेन एउटा सानो भए पनि आप्mनै घर बनाएर अपाङ्गता भएका छोरालाई सजिलोसँग सुरक्षित छानामुनी राख्ने धोको मगर दम्पत्तिको थियो । अब त त्यो धोको पनि पुरा नभइ नै जिन्दगी बित्छ भन्नेमा ढुक्क छन् उनीहरु ।
उनीहरुको जेठो कृष्णले रङरोगन सम्बन्धी काम गर्छन् । माइला कर्णले धातुसम्बन्धी र साहिँलो सुरजले रेष्टुरेण्टमा काम गर्छन् । अर्को विष्णु वैदेशिक रोजगारीमा साउदी छन् । तर उनीहरु सबै आ–आफ्नै जहान परिवार पाल्नमै ठिक्क छन् ।
विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै प्रकारको अपाङ्गता देखिन्छ । सो अनुसार मुलुकमा पूर्ण अपाङ्गताको सङ्ख्या ५७ हजार ४८६ रहेको छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण सन् २०२२ मा कूल जनसङ्ख्याको ६.७ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको उल्लेख छ ।