
काठमाडौं, २७ मंसिर– सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका सबै नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो कर लागू गर्न लागिएको हो ।
स्थानीय निकायमा ५८ नगरपालिका हुँदा स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार एकीकृत सम्पत्ति कर लागू गर्ने भनिएपनि ४८ वटा नगरपालिकाले मात्र लागू गरेका छन् । मन्त्रालयको नगरपालिका व्यवस्था शाखा प्रमुख बिष्णुदत्त गौतमले आगामी साउन १ गतेदेखि मुलुकभरका सबै नगरपालिकाले एकीकृत सम्पत्ति कर संकलन गर्ने तयारी भइरहेको जानकारी दिए ।
एकीकृत कर लागू गर्ने अधिकार पनि सम्बन्धित नगरपालिकालाई नै छ । एकीकृत कर मूल्यमा आधारित कर हो । यसले सम्पत्तिका रुपमा रहेको घर र जग्गाको एकमुष्ट कर संकलन गर्छ भने हाल प्रयोगमा रहेको घरजग्गा करमा घर र घरले चर्चेको जग्गामात्रको कर समेट्छ । बाँकी जग्गाको मालपोत बुझाउनु पर्ने हुन्छ, अन्नपूर्ण पोस्टमा खबर छ ।