२३ असार २०८३, मंगलबार
नेपाली क्रिकेट टोलीको अस्ट्रेलिया भ्रमण

रोहित पौडेलको शतकमा साउथ अस्ट्रेलियामाथि नेपालको रोमाञ्चक जीत

भदौ १४, २०८२
काठमाडौं
रोहित पौडेलको शतकमा साउथ अस्ट्रेलियामाथि नेपालको रोमाञ्चक जीत

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा रोमाञ्चक जीत हासिल गरेको छ । शनिबार खेलिएको एकदिवसीय ढाँचाको क्रिकेटमा नेपाली टोलीले साउथ अस्ट्रेलियालाई दुई विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा दुई सय ४२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले ४४.१ ओभरमा आठ विकेट गुमाएर दुई सय ४४ रन बनाउँदै विजयी लक्ष्य पार गर्‍यो ।

नेपाली टोलीको जीतमा कप्तान रोहितकुमार पौडेलले शतकीय योगदान गरे । कप्तान पौडेलले अविजित एक सय एक रन बनाए । उनले एक सय दुई बलको सामना गरी नौ वटा चौका पनि हिर्काए ।

रोहितले ५९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । नेपाली टोलीका लागि गुलसन झाले पनि ४० बलमा ३५ रनको योगदान गरे । रोहित र गुलसनले ८३ रनको साझेदारी गरेका थिए । यो साझेदारी टुटेपछि नेपाली टोलीको जितको सम्भावना कमजोर बनेको थियो ।

तर, सोमपाल कामीले रोहितसँग उत्कृष्ट तालमेल मिलाउँदै नेपाललाई जीतसम्म पुर्‍याए । सोमपालले ३० बलमा अविजित ३८ रन बनाए । यस क्रममा उनले दुई छक्का र दुई चौका पनि प्रहार गरे ।

नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले ३८ रनको साझेदारी गरेका थिए । आसिफ शेख ११ र कुशल भुर्तेल २८ रन बनाउँदै पेभेलियन फर्किए ।

भीम सार्की भने एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाली टोलीले ४० रनको कुल स्कोरमा दोस्रो र ४५ रनमा तेस्रो विकेट गुमाएको थियो । आरिफ शेख तीन र दीपेन्द्रसिंह ऐरी नौ रन बनाउँदै आउट भए ।

यसअघि, खेलिएको साउथ अस्ट्रेलियाविरुद्धको दुवै टी–२० खेलमा नेपाली टोली पराजित भएको थियो । नेपाली टोली साउथ अस्ट्रेलियासँग पहिलो टी–२० मा तीन विकेटले र दोस्रो टी–२० मा तीन रनले हारेको थियो ।

नेपाली टोलीले यसअघि अस्ट्रेलियामै टप इन्ड सिरिजमा सहभागिता जनाएको थियो । नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेलेको हो ।

एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । विश्वकप छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् ।

नेपालसँगै जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’मा परेका छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्