
देशका चार जिल्लामा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका-४ काठे पुलमा स. १० प ७७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सप्तरी राजपुर नगरपालिका-९ बस्ने ३५ वर्षीय अशोक कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे अस्पताल चपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, चितवनको भरतपुर महानगरपालिका-१० विशाल चोकमा रमाईलो चोकबाट विशालचोकतर्फ आउँदै गरेको बा. १५ च ४६९३ नम्बरको कार अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२ आँपटारी बस्ने २९ वर्षीय बिप्लब भट्टको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी, ललितपुरको ललितपुर महानगरपालिका-१५ सातदोबाटो बा. ७२ प ९५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३२ बालकुमारी बस्ने दाङ घर भएका २८ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै, सिराहाको मिर्चैया नगरपालिका-७ जिवा टोलमा फुलबरियाबाट नरहातर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३३६५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया कुन्ती देवी साहको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।