२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

‘कुलिङ अफ पिरियड’मा सहमतिदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणासम्म

भदौ १५, २०८२
काठमाडौं
‘कुलिङ अफ पिरियड’मा सहमतिदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ ।

प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो ।

समितिमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णयमा टुङ्गो लागेको हो ।

यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।

००००

सहकारी ठगीको आरोपमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईका जेठान ज्ञानबहादुर बम्जन पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शनिबार ललितपुरबाट पक्राउ गरेको हो ।

००००

मिस नेपाल २०२५  को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

००००

औपचारिक भ्रमणका क्रममा चीनको तियानजिनमा पुगेकै दिन शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ। दुवै नेताबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको र आपसी सहयोगलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै पञ्चशीलको सहअस्तित्वका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध अहिलेसम्म सहज रूपमा अगाडि बढिरहेको बताए। उनले चीनमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको शुभकामना दिंदै नेपाललाई सो संगठनमा सदस्यता दिलाउन समर्थन गर्न आग्रह गरे।

वार्तामा प्रधानमन्त्री ओलीले पहिल्यै सम्झौता भइसकेका परियोजनाहरू, विशेष गरी ‘बेल्ट एन्ड रोड इनीसिएटिभ’ अन्तर्गतका योजनाहरूलाई छिटो कार्यान्वयन गर्न जोड दिएका थिए। साथै, मल आपूर्ति, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु प्रतिरोधात्मक क्षमता र जनस्तरबीचको सम्बन्धमा सहयोग गर्न आग्रह गरेको चीनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै लिपुलेक हुँदै भारत–चीनबीच भएको सीमापार व्यापार सम्झौताबारे प्रधानमन्त्रीले सो क्षेत्र नेपालको भूमि भएको उल्लेख गर्दै सरकारको दृढ आपत्ति रहेको जानकारी गराए।

००००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने दाबी गर्दै सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

राप्रपा झापाको ११ औं जिल्ला अधिवेशनलाई शनिबार विर्तामोडमा सम्बोधन गर्दै उनले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्दै जनताले पार्टीप्रति आशा गरेका बताए ।

००००

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएकामा आज निधन भएको जानकारी दिए ।

००००

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ताहरूको खोजीसहित आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन् । 

‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस’ का सन्दर्भमा  उनले बेपत्ताहरूप्रति सम्मान व्यक्त गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई तत्काल खोजी गरी उहाँहरूको अवस्था सार्वजनिक गर्न आग्रह गरेका हुन् । 

००००

गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कूल तीन हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २२ जना बेपत्ता भए भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार ९६३ परिवार प्रभावित भएका छन् ।

००००

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा रोमाञ्चक जीत हासिल गरेको छ । शनिबार खेलिएको एकदिवसीय ढाँचाको क्रिकेटमा नेपाली टोलीले साउथ अस्ट्रेलियालाई दुई विकेटले हरायो ।

००००

सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई बारामा ५१ किलोको माला लगाइएको छ । 

उद्योग वाणिज्य संघको आयोजनामा हुने महिला सम्मेलनमा सहभागी हुन शनिबार सिमरा पुगेकी भण्डारीलाई समर्थकहरूले ५१ किलोको माला लगाइदिएका हुन् ।

००००

उखु किसानले अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् ।

आन्दोलनरत किसानले यही भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका हुन् । 

राजमार्ग अवरुद्ध हुँदा आम नागरिकमा पर्ने प्रतिकूल असरको जिम्मेवार सरकारले लिनु पर्ने उनीहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्