२३ असार २०८३, मंगलबार

एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूबीच बानेश्वरमा छलफल

भदौ १५, २०८२
काठमाडौं
एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूबीच बानेश्वरमा छलफल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का असन्तुष्ट पक्षधर नेताहरू बानेश्वरमा भेला भएका छन् ।

डा. विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, हरि पराजुली, धर्मराज निरौला, हिरेन्द्र शाहीलगायतका नेताहरू आइतबार अपरान्ह भेला भएका हुन् ।

पतञ्जली प्रकरणमा भ्रष्टाचारको आरोप लाग्दा पनि नेतृत्व छाड्न नमानेको, मनोमानी ढंगले पार्टी चलाउन थालेको जस्ता आरोप अध्यक्ष माधवकुमार नेपालमाथि लाग्दै आएको छ ।

अध्यक्ष नेपालले यसबीचमा ओलीमाथि उठाएका नैतिक र कानूनी प्रश्नहरू आफैं अध्यक्ष हुँदा पालना नगरेको समेत आरोप उनीमाथि लाग्दै आएको छ ।

पतञ्जली जग्गा काण्डमा नेपालको सांसद पद निलम्बनमा छ । विशेष अदालतमा मुद्दा छ, तर निलम्बित सांसद नेपाल अझै पार्टी अध्यक्ष र संसदीय दलका नेता छन् ।

पछिल्लो समय ५० भन्दा बढी केन्द्रीय तहका नेताले एकीकृत समाजवादी परित्याग गरिसकेका छन् ।

एकीकृत समाजवादीका उपाध्यक्षको जिम्मेवारीमा रहेका केदार न्यौपाने, सचिव भागवत विश्वासी, स्थायी कमिटी सदस्य चूडामणि जंगलीले एकीकृत समाजवादी छाडिसकेका छन् ।

अध्यक्ष नेपालसँग असन्तुष्ट बनेका स्वास्थ्य राज्यमन्त्रीसमेत भइसकेका केन्द्रीय सदस्य हिराचन्द्र केसी, शारदा स्वर्णकार, प्रेम महर्जन, शान्ता पाख्रिन, गोविन्दराम चेपाङ, डिल्लीप्रसाद उप्रेती, पार्वती विशुंखे, बरुनाथ योगी, गोपाल वम, तर्कबहादुर शाहीसहित ४० भन्दा बढी केन्द्रीय सदस्यले एकीकृत समाजवादी परित्याग गरिसकेका छन् ।

त्यस्तै, नेकपा एसका युवा संघ, विद्यार्थीको संगठन अखिलमा पनि समानान्तर कमिटीहरू गठन भएका छन् । यसलाई समाधान गर्न अध्यक्ष नेपालले कुनै कदम नचालेको बरु उल्टै अहंकारी अभिव्यक्ति दिने गरेको भन्दै नेताहरू असन्तुष्ट बनेका हुन् ।

नेताहरूले धमाधम पार्टी छाड्दै जान थालेपछि पार्टी नै विघटनउन्मुख भएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।

बैठकमा सहभागी एक नेताले केही नेताहरूको अनौपचारिक भेटघाट भएको बताए । ‘अहिलेसम्म पार्टीमा भएका गलत कार्यहरूको समीक्षा गर्दैछौं,’ उनले भने, ‘यस्ता भेटघाटहरू पटक-पटक भइरहेका छन् । तर यो अध्यक्षविरुद्धकै गुटबन्दी भने होइन ।’

यसअघि रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर उनीसँग स्पष्टीकरण लिइएको विषयले पनि नेकपा एसभित्र राम्रै चर्चा बटुलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्