०९ साउन २०८३, शनिबार

राष्ट्रिय जनमोर्चाको बैठकका ९ निर्णय सार्वजनिक

भदौ १५, २०८२
काठमाडौं
राष्ट्रिय जनमोर्चाको बैठकका ९ निर्णय सार्वजनिक

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठक भदौ १४ र १५ गते बुटवलमा सम्पन्न भएको छ। पार्टीका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले मुलुकको राजनीतिक, आर्थिक र राष्ट्रियतासम्बन्धी अवस्थाबारे छलफल गर्दै ९ बुँदे निर्णय सार्वजनिक गरेको छ।

बैठकले दुई ठूला दलले स्थायित्व दिने भनेर बनाएको सरकार असफल भएको ठहर गरेको छ। भ्रष्टाचार बढ्दै गएको, न्यायपालिका निष्पक्षतामा कमजोर बनेको, बेरोजगारी र महंगी चुलिंदै गएकोप्रति चिन्ता व्यक्त गर्दै बैठकले जनताको असन्तोषलाई राजावादी तथा नयाँ भनिने शक्तिले दुरुपयोग गरिरहेको टिप्पणी गरेको छ।

बैठकका निर्णयहरूअनुसार मुलुकमा देखिएका समस्याको समाधान उच्चस्तरीय लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासमार्फत मात्र सम्भव हुने ठहर गरिएको छ। भारत–चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउन भएको सहमतिको खारेजी माग गर्दै बैठकले नेपालका सार्वभौमसत्ता र अखण्डतामाथि परेको चोटप्रति गम्भीर आपत्ति जनाएको छ। कालापानीमा भारतीय सेनाको उपस्थितिको विरोध गर्दै चीन र भारत दुवैको साम्राज्यवादी नीतिको विरुद्धमा जनमोर्चाले आवाज उठाउने निर्णय गरेको छ।

बैठकले भाद्र २५ देखि असोज ५ गतेसम्म १२ दिने देशव्यापी जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यस अन्तर्गत विरोधसभा, कोणसभा, ज्ञापनपत्र बुझाउने, प्रचार–प्रसार, जनभेटघाट तथा प्रशिक्षणका कार्यक्रम हुनेछन्।

यस्तै, रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीले सहभागी भई केन्द्रीय सल्लाहकार बद्रे आलम मुसलमानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। गठबन्धन नगरी एक्लै चुनावमा जाने नीति लिइएको छ।

संगठनात्मक निर्णयअन्तर्गत केन्द्रीय सदस्य पियारी थापालाई व्यक्तिगत कारणले हटाई, रुपन्देहीकै कमला बन्जाडेलाई नयाँ सदस्य नियुक्त गरिएको केसीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्