
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु नान्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर (१७ माइल) टाढा रहेको बीबीसीले जनाएको छ ।
पाकिस्तानसँग सीमा जोडिएको पूर्वी अफगानिस्तानका नान्गरहार र कुनार प्रान्तहरूमा हताहतको रिपोर्ट आएको समाचारमा उल्लेख छ ।
भूकम्पका कारण करिब २० जनाको मृत्यु भएको छ। साथै, ११५ भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । घाइतेलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर मुनि थियो । यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो । यो भूकम्प मध्यराति १२ आएको हो ।
यसअघि, ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प आएको थियो । जसमा ४ हजारको मृत्यु भएको तालिबानी सरकारले दाबी गरेको थियो ।
अफगानिस्तानमा शक्तिशाली भूकम्पको इतिहास छ । हिन्दुकुश पर्वत शृङ्खला भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ ।