
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ मा उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आइतबार साँझ पत्रकार सम्मेलनमार्फत थापालाई उम्मेदवारको रूपमा घोषणा गरेका हुन् ।
एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्यूरोलोजीमा एमडी गरेका उनी वरिष्ठ न्यूरोलोजिस्ट हुन् ।
उम्मेदवार छनोट विधिअन्तर्गत विभिन्न ५ चरणबाट अन्तिममा उम्मेदवार घोषणा गरिएको अर्यालले बताए । गत निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टी(नाउपा)बाट लुम्बिनी प्रदेशसभाको समानुपातिक उम्मेदवार थिए । उनी अहिले उक्त पार्टी छाडेर रास्वपामा प्रवेश गर्दै टिकट पाउन सफल भएका हुन् ।
००००
नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले गएरातिदेखि नै लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
००००
गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजन को ग्राण्ड फिनाले आइतबार राति राजधानीमा सम्पन्न भएको छ। सिन्धुपाल्चोककी गंगा सोनाम अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएकी छन्।
विजेतालाई कार्यक्रम आयोजकले २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरेका छन्। फस्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः १० लाख र ५ लाख रुपैयाँ पुरस्कार दिइएको छ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् ।
बुटवलको बेलबासमा पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
००००
भारत र चीनबीच लिपुलेक पासमार्फत सीमा व्यापार शुरू गर्ने भनेर गरिएको सहमतिको आलोकमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको अडान अहिले नेपालबाहिर पनि चर्चाको विषय बनेको छ ।
साङ्घाई सहयोग संगठन (एससीओ)को सम्मेलनका क्रममा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए, जहाँ भारत र चीनबीच भएको पछिल्लो सहमतिबारे नेपालको प्रस्ट असहमति राखे ।
००००
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको तिआनजिनमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत ओलीसँगको भेटबारे खुसी व्यक्त गर्दै भारत–नेपाल सम्बन्धलाई ‘विशेष र गहिरो’ रहेको बताएका छन् ।
००००
सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
इकाईहरूमा कमान्डरका रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक जिम्मेवारीबाट हटाइएको हो ।
००००
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका असन्तुष्ट पक्षधर नेताहरू बानेश्वरमा भेला भएका छन् ।
डा विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, हरि पराजुली, धर्मराज निरौला, हिरेन्द्र शाहीलगायतका नेताहरू आइतबार अपरान्ह भेला भएका हुन् ।
पतञ्जली प्रकरणमा भ्रष्टाचारको आरोप लाग्दा पनि नेतृत्व छाड्न नमानेको, मनोमानी ढंगले पार्टी चलाउन थालेको जस्ता आरोप अध्यक्ष माधवकुमार नेपालमाथि लाग्दै आएको छ ।
अध्यक्ष नेपालले यसबीचमा ओलीमाथि उठाएका नैतिक र कानूनी प्रश्नहरू आफैं अध्यक्ष हुँदा पालना नगरेको समेत आरोप उनीमाथि लाग्दै आएको छ ।
पतञ्जली जग्गा काण्डमा नेपालको सांसद पद निलम्बनमा छ । विशेष अदालतमा मुद्दा छ, तर निलम्बित सांसद नेपाल अझै पार्टी अध्यक्ष र संसदीय दलका नेता छन् ।
पछिल्लो समय ५० भन्दा बढी केन्द्रीय तहका नेताले एकीकृत समाजवादी परित्याग गरिसकेका छन् ।
नेताहरूले धमाधम पार्टी छाड्दै जान थालेपछि पार्टी नै विघटनउन्मुख भएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।
बैठकमा सहभागी एक नेताले केही नेताहरूको अनौपचारिक भेटघाट भएको बताए । ‘अहिलेसम्म पार्टीमा भएका गलत कार्यहरूको समीक्षा गर्दैछौं,’ उनले भने, ‘यस्ता भेटघाटहरू पटक(पटक भइरहेका छन् । तर यो अध्यक्षविरुद्धकै गुटबन्दी भने होइन ।’
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को विन्दुमा कायम भएको छ ।
आइतबार ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
००००
दूधको भुक्तानी माग्दै दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा धर्ना दिन पुगेका दूध उत्पादक किसान र प्रहरीबीच धकेलाधकेल भएको छ ।
अखिल नेपाल किसान महासंघको नेतृत्वमा उनीहरू आइतबार डीडीसीको कार्यालयमा धर्ना दिन पुगेका थिए ।
००००
डा गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् । शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् ।