
चीनमा जारी सांघाई सहयोग संगठन (एससीओ) सम्मेलन सकेर वार्तास्थल जाने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटै गाडीमा सवार भएका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा दुवै जना सँगै बसेर यात्रा गरिरहेको तस्वीर पोस्ट गर्दै आफूहरू द्विपक्षीय वार्तास्थलमा जाँदै गरेको बताएका हुन् ।
‘एससीओ शिखर सम्मेलन स्थलमा भएको कार्यक्रमपछि राष्ट्रपति पुटिन र म सँगै हाम्रो द्विपक्षीय बैठक स्थलमा गयौं । हामी दुवैले अन्तर्दृष्टिपूर्ण कुराकानी गरेका छौं,’ प्रधानमन्त्री मोदीले लेखेका छन् ।
दुवै नेताबीचको यो भेटघाट एससीओ सम्मेलनको दोस्रो दिन भएको हो । उक्त सम्मेलन आइतबारदेखि चीनको तियानजिनमा शुरू भएको थियो ।
सम्मेलनमा नेपाल, चीन, भारत, रुस, पाकिस्तान, इरान, कजाखस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र बेलारुसका नेताहरू सहभागी छन् ।
यसअघि आइतबार मोदीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेट गरी सन् २०२० को सीमाना विवादपछि शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका थिए ।