देशका विभिन्न जिल्लामा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।
बाराको पचरौता नगरपालिका-८ अमरपट्टी बस्ने ४० वर्षीय महानन्द यादवको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । सोही ठाउँस्थित तियर खोलामा विद्युतीय मोटर जडान गरी खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी बाराकै सिम्रौनगढ नगरपालिका-९ कचोर्वा बस्ने ५० वर्षीया अनिता देवी यादवको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका-५ कोनिहाटी चौरस्थित खेतमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ बस्ने ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर मृत्यु भएको छ । सोही गाउँपालिका-५ स्थित तक्मेवा खोलास्थित निर्माणधिन पुलमा गेलेण्डर चलाउने क्रममा आइतबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका उनको आधारभूत अस्पताल तापेथोकमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, सर्लाहीको बागमती नगरपालिका-१ मिलन चोक गुम्बा टोल बस्ने ६८ वर्षीय छलबहादुर रानाको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको बर्न अस्पताल कीर्तिपुरमा थप उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।