
दिल्लीसँगै जोडिएको नोएडामा विगतमा आरुषि तलवार हत्या काण्ड वा निठारी प्रकरणजस्ता गम्भीर घटनाहरू घटिसकेका छन् ।
यस्ता घटनाको जटिलता सुल्झाउन प्रहरीलाई निकै कठिनाइ भएको थियो । आरुषि तलवार काण्ड अझै पूर्णरूपमा समाधान हुन सकेको छैन ।
सीबीआईले छानबिन बन्द गरिसकेको उक्त प्रकरणमा सन् २०१३ मा राजेश र नुपुर तलवारलाई जन्मकैदको सजाय सुनाइए पनि २०१७ मा इलाहाबाद उच्च अदालतले प्रमाण अभावमा दुवैलाई बरी गर्यो । अहिले ग्रेटर नोएडाको निक्की भाटी मृत्यु प्रकरण पनि त्यही शृंखलामा थपिएको छ ।
गत २१ अगस्टमा सिरसा गाउँमा २७ वर्षीया निक्की भाटीको जलाएर मृत्यु भएको थियो । मृत्युको आरोप उनका श्रीमान् विपिन र ससुराल पक्षमाथि लागेको छ । सबै अहिले जेलमा छन् । तर, यो घटनाप्रकरण पनि आरुषि र निठारी काण्डझैं जटिल हुँदै गएको छ ।
ग्रेटर नोएडा प्रहरीले अघिल्ला गल्ती दोहोर्याउन नचाहेको जनाएको छ । प्रहरीले निक्कीको मृत्युको गुत्थी फरेन्सिक रिपोर्ट, डिजिटल प्रमाण र प्रत्यक्षदर्शीको बयानका आधारमा सुल्झाउने तयारी गरेको छ ।
‘एफएसएल रिपोर्ट’ निर्णायक
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनास्थलको विस्तृत अनुगमन अहिले प्राथमिकता दिइएको छ । घरको शयनकक्ष, भान्सा, ग्यास–चुलोदेखि आँगनसम्मको सूक्ष्म निरीक्षण भइरहेको छ ।
त्यहाँ भेटिएका माटोका नमूना, जलेका कपडा, थिनरको बोतल र लाइटर महत्त्वपूर्ण प्रमाणका रूपमा लिइएको छ । विपिनको शयनकक्षका ढोका–झ्यालको अवस्थासमेत परीक्षणमा राखिएको छ । फरेन्सिक विज्ञान प्रयोगशालाको (एफएसएल) रिपोर्टले आगलागी आकस्मिक थियो वा जानाजानी लगाइएकै हो भन्ने टुंगो लगाउनेछ ।
सीसीटीभी फुटेजको विश्लेषण
प्रहरीले घटनासम्बन्धी सीसीटीभी फुटेजलाई महत्त्वपूर्ण प्रमाणका रूपमा लिएको छ । घटनाको समयमा विपिन त्यहाँ उपस्थित थिए वा थिएनन् भन्नेबारे छानबिन भइरहेको छ ।
फुटेजको समय र प्रविधिगत कोणबाट कुनै हेरफेर भएको त छैन भन्ने कुरासमेत जाँचिँदैछ । छिमेकी तथा घटनास्थलमा सबैभन्दा पहिले पुगेकाहरूको बयान पनि संकलन भइरहेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
निक्कीको मरणासन्न बयान
निक्कीले मरणासन्न अवस्थामा दिएको बयान (डाइङ डिक्लेरेसन) प्रहरीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिए को छ। डाक्टरको उपस्थितिमा लिइएको उक्त बयान निर्णायक हुने विश्वास छ । साथै, पोष्टमार्टम रिपोर्टले मृत्यु हत्या, आत्महत्या वा दुर्घटनावश भएको भन्ने पुष्टि गर्नेछ ।
यसका साथै, प्रहरीले डिजिटल प्रमाण खोतलिरहेको छ । विपिन, उनका बुबा र निक्कीकी दिदी कञ्चनसहित परिवारका सदस्यहरूको कल विवरण (सीडीआर) र लोकेसनसमेत विश्लेषण भइरहेको छ । प्रत्यक्षदर्शी, छिमेकी, आफन्त र वैज्ञानिक प्रमाण एउटै दिशामा मिले केस बलियो हुने प्रहरीको भनाइ छ ।
२० वर्षअघिको निठारी प्रकरण
नोएडाको निठारी गाउँमा करिब २० वर्षअघि धेरै बालबालिका र महिलाहरू रहस्यमय ढंगले बेपत्ता भएका थिए । सन् २००६ डिसेम्बरमा घटना सार्वजनिक हुँदा पन्ढेरको घर (डी–५) बाट १६ वटा कंकाल र मानव अवशेष भेटिएका थिए ।
सहयोगी सुरेन्द्र कोलीले बालबालिकालाई प्रलोभनमा पारेर ल्याउने, दुर्व्यवहार गर्ने र हत्या गरी शरीरका टुक्रा बनाउने गरेको खुलेको थियो ।
कोलीमाथि नरभक्षणको आरोपसमेत लाग्यो । प्रहरीमाथि लापरबाहीको आरोप लागेपछि २००७ जनवरीमा छानबिन सीबीआईलाई हस्तान्तरण गरिएको थियो ।
सन् २००९ देखि २०१७ बीच कोलीलाई थुप्रै मुद्दामा मृत्युदण्ड सुनाइयो । मोनिन्दर पन्ढेरमाथि पनि मुद्दा लागे तर प्रमाण कमजोर भएपछि उनी निर्दोष ठहरिए ।
आरुषि तलवार हत्या प्रकरण
सन् २००८ मा नोएडाको जलवायु विहार कोलोनीमा १४ वर्षीया आरुषि तलवार आफ्नो कोठामा मृत फेला परेकी थिइन् । भोलिपल्ट घरको छतबाट नोकर हेमराजको शव बरामद भयो ।
शुरूमा नोएडा प्रहरीले राजेश तलवारलाई पक्राउ गरे पनि गैरपेशागत कामशैली र प्रमाण बिगारेको आरोप लाग्यो । जनदबाब र विवाद बढेपछि मुद्दा सीबीआईलाई गयो । पहिलो टोलीले हेमराजका साथीमाथि शंका गरे तर प्रमाण पाएन ।
दोस्रो टोलीले आमाबाबुलाई संलग्न माने । २०१० मा सीबीआईले प्रमाण अभावमा क्लोजर रिपोर्ट दर्ता गर्यो । तर २०१३ मा गाजियाबादको सीबीआई अदालतले राजेश र नुपुरलाई जन्मकैदको सजाय सुनायो । २०१७ मा इलाहाबाद उच्च अदालतले प्रमाण अभावमा दुवैलाई रिहा गरिदियो ।