
नेपालका भेट्रान राइडर बिक्रम थापाले जापानको क्लब रेसिङमा जीत हात पारेका छन् ।
नेपाली मोटरसाइकल रेसिङ रेसमान्डुबाट आफ्नो खेल जीवन शुरू गरेका बिक्रम करिब एक दशकदेखि जापानमा छन् र त्यहीँको ट्रयाकमा आफूलाई स्थापित पनि गर्दैछन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अनुसार, टोकियोनजिकै रहेको चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङमा उनले उपाधि हात पारेका हुन् । दुई हजार चार सय मिटर लामो ट्रयाकमा आठ ल्याप पूरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि हासिल गरे ।
‘बिक्रम नेपालको प्रारम्भिक र लोकप्रिय रेसिङ रेसमान्डुमार्फत नेपाली मोटरसाइकल रेसिङलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने मुख्य पात्र पनि हुन्,’ एसोसिएसनले भनेको छ ।
यसअघि, उनले सन् २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि पनि जितेका थिए । नेपाल अटोमोबाइल्स एसोसिएसनले गत वर्ष उनलाई च्याम्पियन्स अवार्डले सम्मानित पनि गरेको थियो ।