
लगातारको वर्षाका कारण नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ सरमथलीमा पहिरोले एक विद्यालयसहित तीन घरमा क्षति पुगेको छ । पाँच घर उच्च जोखिममा छन् ।
पहिरोले सरमथलीस्थित भगवान आधारभूत विद्यालयको चारवटा कोठामा क्षति पुर्याएको छ ।
त्यसैगरी, स्थानीय गोकर्ण थापा, कुमार थापा र निर्मलजङ्ग थापाको घरमा क्षति पुर्याएको वडा नं ३ का वडाध्यक्ष ध्रुवकर केसीले जानकारी दिए ।
उनका अनुसार क्षति भएका घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास थालिएको छ । बाँकी जोखिममा रहेका घरधुरीलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आइतबार रातिदेखि बगेको पहिरोले सरमथली–हुङ्ग सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोले सडक बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको र पैदल यात्रु आउजाउ गर्न समेत कठिनाइ भएको छ ।