
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् ।
सोमबार साँझ सम्पन्न एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराउँदै भने, “सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।”
उनले भने, “कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ। राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गर्न लगाएको हो। मैले मिहिनेत गरेर समाधान गर्नुपर्छ भन्नेमा पुर्याएका थियौँ। अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।”
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए ।
पार्टीले मध्यपूर्व र एसियामा रहेका कार्यकर्ताको योगदानप्रति आभार व्यक्त गर्दै, “प्रवासी जनशक्तिलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन,” भन्दै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार सह्य नहुने बताए । उनले जनवादको अभ्यास गर्दै केन्द्रीयता कायम गर्ने प्रयास भइरहेको र सबै नेता–कार्यकर्ताले आफूलाई लागेका विषय आन्तरिक बैठकहरूमा खुला ढंगले राख्दै पार्टी अनुशासन पालना गर्नुपर्नेमा जोड दिए । उनले भने, “लामो छलफल र बहस गरेर स्थायी समिति बैठकले पार्टीमा अराजकता देखिए कारबाही गर्ने निर्णय सर्वसम्मतिले लिएको छ। कसैले पार्टीको नीति र पद्धति विपरीत लेख्ने–बोल्ने गरेको भए अनुशासनको स्पष्टिकरण सोध्ने काम गर्न निर्देशन दिन्छु।”
अनुशासनको स्पष्टिकरण सोध्दा पार्टीका आन्तरिक बैठकहरूमा जो–सुकैलाई पनि आफूलाई लागेको विचार राख्ने र बहसको वातावरण बनाउने काम गर्नुपर्ने उनले बताए। पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन सबैले भूमिका खेल्न आवश्यक रहेको पनि उहाँले बताए ।
पार्टीका विभिन्न अभियानमा देशभर जाँदा पार्टी नेतृत्व र नेतृत्वप्रति जनतामा मात्र नभई विपक्षी दलका नेताहरूमा पनि भरोसा रहेको उल्लेख उनले बताए ।
बैठकमा केन्द्रीय सदस्य डिबी क्षेत्रीले आफ्नो रिपोर्ट प्रस्तुत गर्दै, रिपोर्टअनुसार एशिया क्षेत्रमै २८ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको र त्यसअनुसार महत्व दिनुपर्ने आवश्यकता औंल्याए ।
बैठकलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै प्रवास क्षेत्र इन्चार्ज ओम शर्माले काम गर्दै जाँदा आफूबाट कमी कमजोरी भएको भए त्यसलाई सुधार गर्दै संगठन विस्तारमा आत्मआलोचनासहित सक्रिय हुने विश्वास दिलाए ।
संगठनका अध्यक्ष सनीकुमार ओलीको अध्यक्षतामा बसेको एशिया प्रदेश संगठन समितिको बैठक सचिव भवानी पन्तले सञ्चालन गरेका थिए ।