२९ असार २०८३, सोमबार

कोशी सहकारी रजिस्ट्रार कार्यालयका तत्कालीन निमित्त प्रमुखद्वारा पैसाको 'बार्गेनिङ' !

भदौ १८, २०८२
विराटनगर
कोशी सहकारी रजिस्ट्रार कार्यालयका तत्कालीन निमित्त प्रमुखद्वारा पैसाको 'बार्गेनिङ' !

कोशी प्रदेशभरका सहकारीहरूलाई नियमन गर्ने जिम्मेवारी पाएका एक उच्च अधिकारीमाथि संकटग्रस्त सहकारीका सञ्चालकसँग पैसा मागेको आरोप लागेको छ ।

इटहरिस्थित अम्बे बचत तथा ऋण सहकारी संस्था र मोरङको उमागौरी सहकारी संस्थाका अध्यक्षले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र जिल्ला अदालतमा दिएको बयानमा कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका तत्कालीन निमित्त प्रमुख हरिबहादुर खत्रीले पैसा मागेको आरोप लगाएका हुन् ।

सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको र करिब १३ हजार बचतकर्ताको ६१ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा समस्याग्रस्त घोषित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगरले समितिमा दिएको बयानमा खत्रीको नाम उल्लेख गरेका छन् । मगर हाल पुर्पक्षका लागि थुनामा छन् ।

आयोगमा दिइएको बयानअनुसार, मगरले संस्था संकटमा फसेका बेला सहयोग गर्नुको सट्टा नियामक निकायका प्रमुख खत्रीले उल्टै आर्थिक लाभका लागि दबाब दिएको आरोप लगाएका हुन् ।

अध्यक्ष मगरले बयानमा इटहरीमै रहेको अम्बे सहकारी र कोशी सहकारी एकीकरण गर्दा ५० लाख लिएको बयानमा उल्लेख छ  ।

तामाङ तत्कालीन कोशी सहकारीका उपाध्यक्ष थिए र पछि मर्ज भएर बनेको अम्बे कोशीमा सञ्चालक बनेका थिए ।

आयोगका पदाधिकारीहरू तामाङले यस प्रकरणमा बिचौलियाको भूमिका खेलेको बताउँछन् । ‘अम्बे सहकारीबाट पटक–पटक गरी ५० लाख नगदै बुझाएको थिएँ,’ मगरले बयानमा भनेका छन् ।

उनका अनुसार, कोशी बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र कोशी प्रदेशभरि भएकाले अम्बे बचतको घाटापूर्तिका लागि सेवा विस्तार गर्न एकीकरण गरिएको थियो  ।

यही प्रक्रिया सहजीकरण गरिदिएबापत खत्री र तामाङलाई रकम दिइएको उनको बयानमा उल्लेख छ ।

कोशी प्रदेश सरकारले गत पुस २३ गते अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । सरकारले संस्थाको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउन एक व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । 

उमागौरी सहकारी अध्यक्षको बयानमा पनि जोडियो खत्रीको नाम

यस्तै, प्रकृतिको आरोप मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले पनि लगाएका छन् ।

२२ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका रौनियारले मोरङ जिल्ला अदालतमा दिएको बयानमा हरि खत्रीले विभिन्न बहानामा पैसा मागेको आरोप लगाएका हुन् ।

सहकारी प्रकरणमा अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ, जसमा अध्यक्ष रौनियार पुर्पक्षका लागि थुनामा छन् ।

रौनियारले अदालतमा दिएको बयानमा भनेका छन्, ‘हरिबहादुर खत्रीले प्रदेश रजिस्ट्रारको जिम्मेवारी पाएपछि विभिन्न सहकारी संस्थाहरूको लेखापरीक्षण महंगो शुल्क लिई भगीरथ खनाल तथा एसोसिएट्स लगायतबाट गराउँदै आएका थिए । सोही सन्दर्भमा हाम्रो कार्यालयमा फोन गरी खत्रीले लेखापरीक्षण हामीबाटै गर्नुपर्छ, संस्था राम्रोसँग सञ्चालन गर्ने वातावरण बनाइदिन्छौं भनी वार्षिक ३ लाख रुपैयाँ माग गरेका थिए ।’

शर्त नमानेपछि खत्रीले आफ्नो मोबाइलमा धम्कीपूर्ण म्यासेज पठाएको रौनियारको दाबी छ ।

‘मान्ने कि नमान्ने ? नमानेको खण्डमा केही भइजाला, त्यसको जवाफदेहिता तपाईंले लिनुपर्छ,’ भनी म्यासेज पठाएको उनले दिएको बयानमा उल्लेख छ ।

धम्कीपछि आफूले २०८१ जेठ ६ गते प्रधानमन्त्री कार्यालय, सहकारी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी दर्ता गरेको रौनियारले बयानमा उल्लेख गरेका छन् ।

तर, खत्रीले भने आफूमाथि निराधार आरोप लगाएको दाबी गरेका छन् ।

दुईवटै सहकारीका अध्यक्षहरूले आफ्नो गल्ती लुकाउन अरूलाई दोषारोपण गरेको उनले बताए । आफूले सहकारीबाट पैसा नलिएको उनको प्रस्टीकरण छ ।

salt training

कमेन्ट गर्नुहोस्