
आमा धर्ती हुन् भने बा आकाश । आमालाई धर्तीसँग तुलना त्यसै गरिएको होइन । एक संघर्षशील आमा, लेखक सरस्वती ज्ञवालीको संस्मरण पुस्तक क्षितिज, आमा र धरतीको हालसालै भएको लोकार्पण समारोहमा पुगेपछि भने आमालाई धर्तीसँग तुलना गर्नेलाई धन्यवाद दिन मन लाग्यो । लेखकले यस पुस्तकमा आफ्नी मस्तिष्क पक्षघातबाट ग्रस्त छोरी क्षितिजलाई समर्पण गरेर २५ छोटा शीर्षकमा १६६ पृष्ठमा एउटी आमाले सन्तानप्रति गरिने माया, स्नेह, त्याग, तपस्या, समर्पण र प्रेम पस्किएकी छिन् । मूलतः यो संस्मरणमा लेखकले आफ्नो दुःख पीडा पुस्तकमा समेटेकी छिन् । साङ्ग्रिला मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको यस पुस्तकको मूल्य तीन सय पन्चानब्बे रुपैयाँ राखिएको छ । यस अघि उनका लाल्टिनको उज्यालो (आत्मकथा) र स्वाभिमान (कविता सङ्ग्रह) पनि प्रकाशित छ।
प्रकृतिले उनीहरूलाई दिने पहिलो बच्चाको नाम क्षितिज राख्ने पति-पत्नीबीचको कुराकानी रोचक लाग्छ । बिहान भालेको डाँको अघिनै उनका पतिले 'मानिसको जस्तै देशको पनि जीवन हुन्छ' भन्दै देशका लागि परिवारभन्दा माथि उठेर छुट्टिँदाको क्षणले हर पाठकलाई छुन्छ (पृष्ठ १० )। सुत्केरी अवस्थामा 'डाक्टर नभएमा' भन्ने किताबको भरोसामा रहेकी लेखकलाई मड्किना यमबहादुर दाइको सूचनाले तत्कालीन पञ्चायतविरुद्ध लागेका आफ्ना पति अर्थात् प्रदीप ज्ञवालीको सुरक्षाले सताउँछ । आफ्ना पतिका सामान प्रहरीले नभेटुन् भनेर गोठमा लुकाएर हतारमा फर्कन थाल्छिन् । फर्कँदा लिस्नोमा अड्किएर पछारिँदा पेटमा हुर्किँदै गरेको बच्चामा अकल्पनीय क्षति पुर्याएको लाइन पढ्दै गर्दा जो कोहीका आँखा रसाउँछन् (पृष्ठ १९)।
सङ्कट र अप्ठ्यारोमा नै त रहेछ प्रियजनको याद आउने भन्दै लेखकले पर्खाई शीर्षकमा स्त्री जातिले कति कष्टदायी पिडा सहेर यो सृष्टि धानेका रहेछन् भन्ने अनुभूति हरेक पुरुषले गर्न पर्ने धारणा राखेकी छिन् (पृष्ठ २२)। नवजात शिशु जन्मँदा एउटी आमा जति खुसी भइन् ,त्यत्तिनै दुखी भइन् भन्ने लाइनले मनमा चिसो पस्छ (पृष्ठ २५)। सन्तानको मायाले कति पिडा दिँदो रहेछ भन्ने कुराको अनुभव गर्दछिन् । एक आम महिला भए पनि व्यक्तिगत प्रगति घरपरिवार र प्रियजनलाई समेत त्यागेर देशका लागि लागेकाले पनि उनको जीवन आम चासोको भएको विचार व्यक्त गर्छिन् (पृष्ठ ३३)।

पितृवात्सल्यले भिजेका उनका पति एक पिताका रूपमा आफ्नो पहिलो सन्तानको स्थितिबाट विचलित नभइकन अगि बढेको कुराले महान पिताको स्वरूप देख्न सकिन्छ (पृष्ठ ३७)। गाउँघरमा रहेकी सुत्केरी महिलाको प्रतिविम्बको रूपमा उनले गरेको संघर्षले हरेको नारीलाई प्रेरणा प्रदान गर्दछन् । उदाउनका लागि अस्ताउनै पर्ने जीवनको शाश्वत सत्यलाई अंगालेर उनी अघि बढ्छिन् । एक नारीको भूमिकामा उभिदै गर्दा उनले सम्झिएको कविताको लाइन, 'पुरुष कामबाट घर फर्किन्छ, स्त्री कामबाट काममा फर्किन्छे'ले अहिले पनि अधिकांश नारीले गर्ने कामको दोहोरो जिम्मेवारी झल्काउँछ (पृष्ठ ४२) ।
अपाङ्गता भएकी छोरीको उपचारको खोजीमा भौतारिँदाका संघर्षहरूबाट लेखकले मान्छेका स्वभाव, मानवता तथा सहयोग नजिकबाट नियाल्ने मौका पाएकी छिन् । हरेक नर्समा 'लेडी विथ द ल्याम्प' भनिने मदर टेरेसाको रूप देख्ने र कुनैबेला आफू पनि नर्स बन्ने सपना देखेकी उनी जब अस्पतालमा नर्सले आफू र आफ्नो बच्चाप्रति गरेको दुर्व्यवहारले दुःखी हुन्छिन् (पृष्ठ ६४) । मान्छेमा पाकोपन हुनलाई पनि उमेर पाक्नुपर्दो रहेछ भन्दै उनी अपाङ्गता भएका सन्तानका आमाका पीडामा मलमको साटो नुनचुक छर्ने मानिसहरू हाम्रै समाजमा रहेकोमा दुःख लाग्ने बताउँछिन् (पृष्ठ ८१)।
आफ्ना सन्तान स्वस्थ र सबल बनून्, हरेक आमा बाबुको चाहना हुन्छ भन्दै उनी सन्तानको उपचार गर्न हरेक कुरा गर्न तयार देखिन्छिन् । जस्तो सुकै प्रतिकूलतामा पनि अनुकूलता खोज्ने मानव स्वभावमा लहरिदै, ग्रामीण विकास बैंकमा जागिर गर्दै सानो घर बनाएको स्मरण गर्दछिन् (पृष्ठ ८५)। एकातिर जागिर, अर्कोतिर बिरामी नानी, दुई साना छोराहरूको व्यवस्थापनको जिम्मेवारी बहन गर्न जागिर छोड्नुले हरेक नारीको घरपरिवारप्रतिको जिम्मेवारी बोध गराउँदछ । फेमिनिजमको आँखाले यसलाई भिन्न रूपमा हेर्न सक्छ तर लेखक सरस्वती ज्ञवालीलाई यही कुरामा गर्व लाग्छ । उनी भन्छिन्- मेरो पतिको निरन्तर धैर्य, मेहनत, पार्टीप्रतिको प्रतिबद्धताले पाएको उचाइमा पारिवारिक हिसाबले आफ्नो पनि भूमिका छ (पृष्ठ ९६)।
२०५६ सालमा संसदीय चुनाव गुल्मी दुई नम्बर क्षेत्रका जनताले जिताएपछि काठमाडौं आएर छोरीको उपचारको सम्भावनाको खोजीमा अपाङ्गता भएका बच्चा हेर्ने संस्थाको खोजीमा भौतारिँदाका तीता मीठा अनुभव सुनाएकी छिन् । लेखकले आफ्ना पति माननीय हुँदैमा पैसाको ओइरो लाग्छ र ? (पृष्ठ ११५) भनेर गरेको प्रतिप्रश्नले लेखकका पति इमान र नैतिकताका साथ राज्यको सेवामा लागेको महसुस हुन्छ। आफ्नी छोरीको लागि उपयुक्त संस्था, आफ्नो अँगालो र काखभन्दा उपयुक्त ठाउँ यो दुनियाँमा कतै नभएको निर्क्योल गर्छिन् (पृष्ठ ११८) । अपाङ्गता भएकालाई सहानुभूति हैन बरु सीप दिएर श्रम गरी आत्मनिर्भर बनाउन व्यवस्था मिलाउनु राज्यको पहिलो दायित्व हुने धारणा व्यक्त गर्दछिन् (पृष्ठ १२८)। आमाका लागि दुःख बिसाउने चौतारीको रूपमा उनले छोरीलाई रूपमा चित्रण गरेकी छिन् (पृष्ठ १३५)अपाङ्गता भएका व्यक्तिहरू र तिनका अभिभावकहरूको दुःखेको मनमा मलम लगाउन नसके पनि नुन चुक नछरिदिए कति राम्रो हुने विचार व्यक्त गर्छिन् (पृष्ठ १४९)। आफ्नी छोरीले बुबाप्रतिको अनुपम मायाको रूपमा सबै बसेका साथीहरूलाई धकेल्दै बुबाको काखमा गएर बसेको क्षणको सम्झनाले आफ्ना पीडाहरू भुल्ने गर्ने बताउँछिन् (पृष्ठ १५३)।
अन्त्यमा, यो पुस्तक आफैंमा त्याग, संघर्ष र प्रेरणाको अटल यात्रा हो । हरेक परिवारले पढ्नै पर्छ । एउटी आमाले सन्तानप्रति गरेको माया, स्नेह, त्याग, तपस्या, समर्पणको समिश्रण यस पुस्तकमा पाइन्छ । जीवन सङ्घर्षमय छ र त जिउनुको अर्थ छ (पृष्ठ १६६), यस पुस्तकको अन्त्यमा लेखिएको भनाइलाई सार्थक बनाउन लेखक सफल भएकी छिन् । सन्तानप्रतिको माया र प्रेमको प्रतिमूर्तिका रूपमा आफूलाई उभ्याउन सफल एक आत्मविश्वासी नारी, ममतामयी आमा र प्रेरणादायी लेखकलाई आगामी दिनमा उनले भने झैं सफलताका कथा पनि पाठकले पढ्न पाउनेछन् भन्ने कामनाका साथ हार्दिक शुभकामना।
-कनौजे बैंकिङ क्षेत्रसँग आबद्ध छिन्।