
काठमाडौँ, २८ मङ्सिर- सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ ।
कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन् । विभागले निर्देशिकाको खाका तयार गरिसकेको छ । खाकालाई अन्तिम रूप दिएपछि गृह मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पास भएपछि निर्देशिका कार्यान्वयनमा आउनेछ । त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले नै व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउनेछन्, नयाँ पत्रिकामा खबर छ ।