२९ जेठ २०८३, शुक्रबार

आइतवारदेखि सुकेधाराबाट पनि सवारी लाइसेन्स लिन पाइने

कात्तिक २०, २०७४
आइतवारदेखि सुकेधाराबाट पनि सवारी लाइसेन्स लिन पाइने
लोकान्तर संवाददाता
काठमाडौँ, ७ माघ –आइतवारदेखि काठमाडौंको चावहिलस्थित सुकेधाराबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी सुरु हुने भएको छ ।
यातायात व्यवस्था विभागले शुक्रवारदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वागमती सेवा विस्तार गरेको छ ।

कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताए ।

‘एकान्तकुनामा मात्र रहेको वागमती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सेवाग्राहीले सहज रुपमा सवारी चालक अनुमति पत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हुँदैन, कार्यालय खुलेका स्थानमा परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोल्ने पनि मन्त्रालयको योजना छ,’ उनले भने ।

हाल मोटरसाइकलको परीक्षण केन्द्र (ट्रायल सेन्टर) यातायात व्यवस्था विभाग मीनभवनमा र कारको यस्तो केन्द्र नेसनल ट्रेडिङ, रामशाहपथबाट हुँदै आएको छ ।

सीमित परीक्षण केन्द्र हुँदा अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा दिन समय कुर्नुपर्ने समस्या भएको गुनासो सेवाग्राहीले गर्दै आएका छन् ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सुकेधारामा कार्यालय खोल्न चौथोपटक विज्ञापन गरेर घरभाडा सम्झौता गरिएको जानकारी दिए । ‘यहाँ कार्यालय खोलेपछि सवारी जाम भएर समस्या हुन्छ भन्ने स्थानीयवासीको गुनासो थियो, तर त्यस्तो हुन दिन्नौँ,’ उनले भने ।

कार्यालयमा आइतबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण गरिने र परीक्षण केन्द्र खोलेपछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख सुन्दर भट्टराईले बताए । अनुमति पत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न चार महिनाअघि निर्देशन दिएको थियो ।

निर्देशनअनुसार खुलेको सो कार्यालयको मासिक भाडा एक लाख तीन हजार रुपैयाँ पर्नेछ ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमति पत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत गर्न सकिने व्यवस्था छ । यसअघि विभागले काठमाडौँको स्वयम्भूस्थित ठूलो भ¥याङ र भक्तपुरको जगातीमा पनि कार्यालय स्थापना गरेको थियो ।

विभागले एक महिनाअघिदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुवात् गरेको छ । अनलाइनबाट भर्न सकिने भनी सुरु गरिएको सेवामा प्राविधिक समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्