
जेनजी आन्दोलनमा नाममा घुसपैठ गरेर लुटपाटसहित आगजनी र तोडफोडका घटना बढेसँगै यसविरुद्ध सेनाले अप्रेशन थालेको छ । त्यसका लागि नेपाली सेना मंगलबार राति १० बजेदेखि परिचालित भएको हो ।
जसअनुसार सेनाले लुटपाटमा संलग्न समूहलाई नियन्त्रण थालेको छ । सोहीअनुसार बानेश्वरमा राष्ट्रिय बाणिज्य बैंक लुटपाटमा संलग्न ५ जना पक्राउ परेका छन् । सेनासँगै सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि काठमाडौँका सडकमा खटिएका छन् भने सुरक्षाकर्मी शान्ति र अमयचयनका लागि प्रयासरत छन् ।
जेनजीको आन्दोलनका क्रममा व्यापक तोडफोडका घटना भएका छन् । यस्तै संसद भवन, राष्ट्रपति भवन, सिंहदरबारदेखि सर्वोच्च अदालत र कैयन सरकारी र निजी संस्थामा आगजनी भएका छन् ।
आगजनीकै बिच ब्यापक लुटपाटका घटना भएसँगै सेना परिचालित भएको हो । सेना परिचालन हुनुअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै स्थिति नियन्त्रणका लागि राति १० बजेदेखि परिचालन हुने जानकारी गराएको थियो । सोहीअनुसार सेनाले रातभर अप्रेसन चलाइरहेको छ।
सेनाले आफ्नो वरिपरि उच्छृङ्खल गतिविधि भए खबर गर्न भन्दै ०१–५९७९००० नम्बरको हेल्पलाइन समेत सार्वजनिक गरेको छ ।