
परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।
हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन भएको छ । राति १० बजेदेखि देशभर सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र र सडकमा अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
सेनासँगै सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि काठमाडौँका सडकमा खटिएका छन् भने सुरक्षाकर्मी शान्ति र अमयचयनका लागि प्रयासरत छन् ।
सेनाले अराजक गतिविधि नगर्न र गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ । आफ्नो वरपर आपराधिक तथा अराजक गतिविधि भएमा खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।