
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जेनजीको दुई दिने आन्दोलनको बलमा सत्तापलट भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् भने उनले बालुवाटार छाडिसकेका छन् ।
यस्तै आन्दोलनकारीले मंगलबार संसद भवन, प्रधानमन्त्रीको सरकारी निवास, सिंहदबारका साथसाथै सर्वोच्च अदालत समेत जलाएका छन् । यस्तै विभिन्न सरकारी तथा निजी संस्थामा पनि आगजनी गरेका छन् । राजधानी बाहिर समेत व्यापक तोडफोड र आगजनीको घटना भएका छन् ।
००००
यसैबीच आन्दोलन नियन्त्रणबाहिर गएर अराजकता र लुटपाट मच्चिएसँगै नेपाली सेनाले सम्पूर्ण सुरक्षाको कमाण्ड लिएको छ । गएराति १० बजेदेखि सेना सडकमा उत्रिएको छ ।
००००
देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
सूचना निर्देशनालयले बुधबार जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।
००००
परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २१ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
यस्तै बानेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंक लुटपाटमा संलग्न ५ जना पनि पक्राउ परेका छन् ।
००००
नेपालमा जारी हिंसात्मक घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख प्रकट गरेका छन् । मंगलबार दिनभरको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको ताजा घटनाक्रमबारे छलफल भएको जानकारी दिँदै उनले एक्समार्फत प्रतिक्रिया दिएका हुन् ।
००००
प्रधान सेनापति अशोकराज सिग्देलले देशका विभिन्न भागमा भइरहेका जेनजी आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरेका छन्।
यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि वार्तामा आउन आह्वान गरेका छन् । सम्भवतः बुधबार जेनजी प्रतिनिधिसँग वार्ता हुने बताइएको छ ।
००००
राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने कार्यमा जिम्मेवार हुन प्रदर्शनरत पक्षलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा विगतका घटनाबाट शिक्षा लिँदै आजको प्रदर्शनमा थप मानवीय र भौतिक क्षति हुन नदिनका लागि प्रदर्शनलाई गम्भीरतापूर्वक लिन आयोगले आग्रह गरेको हो । यसैबीच विभिन्न प्रवुद्ध व्यक्तिहरुले जेनजीको आन्दोलन सफल भइसकेकाले संयमित हुन आह्वान गरेका छन् ।
००००
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा प्रदर्शनकारीबाट कुटिएका छन् ।
००००
रास्वपा र राप्रपाका सांसदहरुले राजीनामाको घोषणा गरेका छन् । यस्तै अन्य केही सांसदहरुले पनि राजीनामा दिएका छन् ।