
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतमा १०० प्रतिशतसम्मको भन्सार कर लगाउन युरोपेली संघलाई अपील गरेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्य गर्न बाध्य पार्ने आफ्नो प्रयासको एक भागको रूपमा ट्रम्पले यस्तो अपिल गरेको बीबीसीले जनाएको छ ।
ट्रम्पले मंगलबार अमेरिका र युरोपेली संघका अधिकारीहरूबीच रुसमा आर्थिक दबाब बढाउने विकल्पहरूमा भएको वार्ताको क्रममा यो माग गरेका थिए ।
यो प्रस्ताव यस्तो समयमा आएको हो जब ट्रम्प रुस र युक्रेनबीच शान्ति सम्झौता ल्याउन संघर्ष गरिरहेका छन् । अर्कोतर्फ, रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेको छ।
ट्रम्पको प्रस्तावअघि अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले अमेरिका आर्थिक दबाब बढाउन तयार रहेको बताएका थिए, तर यसलाई बलियो युरोपेली समर्थन चाहिन्छ।
ट्रम्पले मंगलबार पत्रकारहरूलाई उनी यस हप्ता वा अर्को हप्ताको शुरूमा पुटिनसँग फोनमा कुरा गर्ने बताए ।
उनले ट्रुथ सोसलमा पनि पोस्ट गरेका छन्, जसमा उनले भारत र अमेरिकाले व्यापार अवरोधहरू हटाउन निरन्तर छलफल गरिरहेको र आगामी हप्ताहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने योजना रहेको बताएका छन्।
उनको पोस्टको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, ‘भारत र अमेरिका घनिष्ठ मित्र र प्राकृतिक साझेदार हुन्। मलाई विश्वास छ कि व्यापारमा हाम्रो छलफलले भारत–अमेरिका साझेदारीको विशाल सम्भावनालाई अझ खुला गर्ने बाटो खोल्नेछ।’