
जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्र, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा कर्फ्यु आदेश जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिए ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।
उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जो सुकैउपर प्रचलित कानून बमोजिम कारबाही हुने विज्ञप्तिमा जनाइएको छ ।