
जेन-जी अभियन्ता रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्ता गर्नुस् भनेपछि आफूहरू सैनिक मुख्यालयबाट बाहिरिएको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी सार्वजनिक गर्दै उनले यसो गर्दा जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले प्रधानसेनापतिको प्रस्तावलाई अस्वीकार गर्दै आफूहरू त्यहाँबाट बाहिरिएको बताएकी छन् ।
‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनेसकेपछि, जेन-जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जे-जी समूहसँग छलफलका निम्ती तयारी गरिरहेका छौं’, रक्षाले लेखेकी छन् ।
उनले हिजो मंगलबार पनि प्रधानसेनतापिलाई भेट्न कुनै माग लिएर नगएको बताएकी छन् । आफ्ना मागहरू तयार गर्न समय चाहिन्छ भने मंगलबार प्रधानसेनापतिलाई भनेको बमले उल्लेख गरेकी छन् ।
‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौं, हामी सबै एकै ठाउँमा आएर आफ्नो माग राख्नेछौं, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित आर्मी चिफसमक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौं भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौं । जेन-जीका मागहरू, राज्यको आगामी बाटो जेन-जीले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान थियो’, बमले अर्को पोस्टमा लेखेकी छन् ।
उनले बुधबार पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन–जेड समूहसँग छलफल गर्न गरेको तर आन्दोलनको आधारभूत मर्मविरूद्ध छलफल अघि बढाइन थालेपछि आफू र केही साथीहरू तत्काल बाहिरिएको उनले बताएकी छन् ।
‘जेन-जी आन्दोलनको कुनै लिडर छैन यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेन-जीकै समूहले लिड गरेको हो । तसर्थ, अहिले वार्तामा रहेका जेन–जेड साथीहरूको धारणा वा अडानबारे म पूर्ण रूपमा अनभिज्ञ छु’, उनले लेखेकी छन् ।