
जेनजी पुस्ताको आन्दोलनसँगै प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि नेपाली सेनाले छलफल अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार बुधबार दिनभर विभिन्न पक्षसँग संवाद गरेका प्रधानसेनापति अशोकराज सिग्देलले थप छलफलका लागिआज (बिहीबार) विभिन्न पक्षलाई बोलाएका छन् ।
बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन । जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै ग्रुप लिडरको नाम लिएर आउन आग्रह गरेको थियो ।
प्रधानसेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्सका सदस्यसँग संवाद गरेका थिए । सिग्देलले आज देशले निकास पाउने गरी जेनजी अभियन्तासँग छलफल गर्ने नेपाली सेनाले जनाएको छ । सेनाको समन्वयमा राष्ट्रपति पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने छ ।
जेनजी अभियन्ताले सेनासँगै आफ्नो समूहमा बृहत् छलफल गरेका छन् । प्रधान सेनापति सिग्देलसँगको छलफलपछि जेनजी अभियन्ता सामाजिक सञ्जालमा खुला बहस गरेका थिए ।
जेनजीले अन्तरिम सरकारको नयाँ नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेको छ । आजको छलफलले त्यसलाई औपचारिकता अपेक्षा छ । यद्यपि, अन्तरिम सरकारको नेतृत्वबारे जेन–जीका विभिन्न समूहबीच एकरूपता छैन ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अन्तरिम सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गरेका छन् । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारको नेतृत्वका लागि आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्।
शाहले कार्कीको नाममा आएको प्रस्तावलाई नेपालीहरूको परिपक्वता र सुझबुझको परिचायक भन्दै सम्मान प्रकट गरेका छन् । उनले हतारमा नेतृत्व लिन चाहनेहरूलाई पनि सन्देश दिँदै जोश र इमानदारीताले स्थायी भूमिकामा देखिनुपर्ने बताएका छन् । राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले जेनजीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न तत्काल संसद् विघटन गर्न पनि माग गरेका छन् ।
प्रधानसेनापति सिग्देलले बुधबार अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका थिए । साथै धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राईले पनि सैनिक मुख्यालय पुगेर प्रधान सेनापति सिग्देलसँग संवाद गरेका थिए ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।