
बृहत् नागरिक आन्दोलनले जेनजी क्रान्तिलाई सफल बनाउन र प्रतिक्रान्तिलाई परास्त अपिल गरेको छ ।
बिहीबार एक अपिल जारी गर्दै बृहत् नागरिक आन्दोलनले प्रतिक्रान्तिकारीहरूको सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिएको बताएको छ । त्यसो हुँदा उनीहरूको नेतृत्वमा सबै नागरिक सडकमा उत्रन तयार रहेको भनिएको छ ।
‘जेनजीका भाइबहिनीहरू जो यो प्रतिक्रान्तिविरुद्ध हुनुहुन्छ र बृहत् नागरिक तप्काबाट सहयोग मागिरहनुभएको छ, उहाँहरूको साथ दिन यो देशका समग्र नागरिक, विभिन्न किसिमले संगठित राजनैतिक, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्छ’, अपिलमा भनिएको छ, ‘प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिँदैछ र उहाँहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौं ।’
यस संगीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान रहेको बृहत् नागरिक आन्दोलनले भनेको छ ।
‘त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो । अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन’, अपिलमा भनिएको छ, ‘यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्त्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन् गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्त्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन् ।’
अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्ने अपिलमा आग्रह गरिएको छ । ‘यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पनि नागरिक समाज तयार छ’, अपिलमा भनिएको छ ।
