
प्रमुख दलका युवा भ्रातृ संगठनहरूले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गरेर मात्रै आगामी राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।
ठूलो बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रका मूल्यहरूलाई कमजोर नबनाइ त्यसको संरक्षण गर्न उनीहरूले माग गरेका हुन् ।
तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे, वाईसीएलका अध्यक्ष पुष्प ओली, युवासंघका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी सम्पूर्ण युवालाई संयमित र सजग रहन, लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्न दृढतापूर्वक क्रियाशील रहन अपिल गर्दछौं ।’
उनीहरूले हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । जेनजी समूहको आह्वानमा भएको आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएको उल्लेख गर्दै यसलाई ‘दुःखद, हृदयविदारक र निन्दनीय’ भनिएको छ ।
‘सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र उनका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । घाइतेहरू सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
युवा संगठनहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानूनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शिता, न्याय र जवाफदेहिताका मागलाई समर्थन जनाउँदै यसअघि पनि ती विषयमा पहल गर्दै आएको स्मरण गराएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि केही अवाञ्छित तत्वहरूले तोडफोड, आगजनी, हिंसा र लुटपाटजस्ता घटना गराइरहेका छन् । सार्वजनिक सम्पत्तिमा क्षति हुँदा पनि नेपाली सेना लगायतका सुरक्षा निकायहरू किन मुकदर्शक बनेर बसेका छन् भन्ने विषयमा छानबिन हुनुपर्छ ।’
उनीहरूले सुरक्षा निकायको भूमिकाको गम्भीर समीक्षा र पुनरवलोकन गर्न, टोलटोलमा सुरक्षा समितिहरू गठन गरी जनसमुदायलाई सचेत र सक्रिय बनाउन पनि आग्रह गरेका छन् ।
