
काठमाडौं, २८ मंसिर — पर्वतीय क्षेत्रको विषय समेटेका चलचित्र तथा वृत्तचित्रहरूको वार्षिक समारोहको कुमारी हलमा बिहीवार उद्घाटन गरिएको छ ।
काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) का जुरी सदस्यहरू जोआना क्रस्टन, केसाङ छेतेन र रीना मोहनले संयुक्त रूपमा तिब्बती ढ्याङ्ग्रो बजाएर १५औं किम्फ समारोहको उद्घाटन गरे ।
यसअघि किम्फ आयोजक समितिका अध्यक्ष वसन्त थापाले देशमा विभिन्न राजनीतिक परिवर्तन भएर उथलपुथल आएको भएपनि किम्फ निरन्तर सञ्चालन गर्न पाइएको भन्दै सन्तोष व्यक्त गरे । किम्फमा देखाइने फिल्महरूको गुणस्तर बढ्दै गएको उनको दाबी छ ।
समारोह निर्देशक रम्यता लिम्बूले किम्फमा भाग लिने सबै फिल्ममेकर तथा दर्शकलाई धन्यवाद दिँदै सबैको सक्रिय सहभागिताका लागि आग्रह गरिन् ।
समारोहको ओपनिंगमा 'द लास्ट हनी हन्टर' नामक वृत्तचित्र देखाइएको थियो । पूर्वी नेपालका अक्करे भीरमा मह काढ्ने गाउँलेको कथा यसमा समेटिएको छ ।
बिहीवारदेखि शुरु भएको किम्फ पुस ३ गते अर्थात् सोमवारसम्म चल्नेछ । उक्त अवधिमा ७६ वटा फिल्म देखाइनेछन् । सबै फिल्म कुमारी हलमा देखाइनेछन् ।
चलचित्र प्रदर्शनका अलावा फिल्मसम्बन्धी छलफलहरू पनि चलाइने आयोजकहरूले बताएका छन् ।
किम्फमा देखाइने फिल्महरूका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, नेपाल पानोरामा र बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड तीन वर्गमा पुरस्कारको पनि व्यवस्था गरिएको छ ।