०२ असार २०८३, मंगलबार

सन् २०३० मा ५० लाख पर्यटक नेपाल भित्राउने उद्देश्य

मंसिर २८, २०७४
सन् २०३० मा ५० लाख पर्यटक नेपाल भित्राउने उद्देश्य

 
काठमाडौं, २८ मंसिर—प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउन ‘भिजन ५ मिलियन योजना’ सार्वजनिक गरेको छ ।
बुधबार पाटाको ४१ औं साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो । 
पाटाले भिजन ५ मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गरि पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी भूमिकासमेत खेल्ने जनाएको छ ।  पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहश्राब्दी विकास लक्ष्य अनुरुप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाएको हो ।
साधारणसभामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्राउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए । 
‘निजी क्षेत्रले मात्र काम गरेर हुँदैन त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारले अधिक पर्यटक भित्राउन पूर्वाधार निर्माणमा जोड दिएको छ,’ उनले भने । निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम चाडो सकेको खण्डमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने न्यौपानेले बताए । ‘भारत र चीनका पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाउन सकेमा मात्र पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन्,’ उनले भने ।
कार्यक्रममा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडाले पर्यटनमार्फत मुलकको आर्थिक विकास संभव रहेकाले पूर्वाधार विकासमा नै जोड दिनुपर्ने बताए । पूर्वाधार विकासका लागि सरकार र निजीक्षेत्र मिलेर काम गर्नुपर्छ, उनले भने ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले पर्यटकीय संभावना बोकेका नयाँ गन्तब्यको खोजी गरी ब्यापक प्रवद्र्धनमा साझेदारिताकासाथ अघि बढाएमा हाम्रा योजनाले सार्थका पाउने बनाए ।
पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापाक लगानी र प्याकेजको आवश्यकता परेको बताए । ‘अब बन्ने सरकारले पनि सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ हामीले पनि त्यहि लक्ष्यलाई भिजन बनाएका छौं,’ उनले भने । अब सरकारसँग मिलेर काम गर्नुपर्ने बेला आएको उनले बताए ।
पाटाको ४१ औँ साधारणसभाले पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल  पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायु सेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभुतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उडडनपाधिकरण (क्यान) पदेन सदस्य रहेका छन् भने अन्य सात जना निजी क्षेत्रबाट सदस्य चयन भएका छन ।
साधारणसभाले हिमालयन टाभल मार्ट तथा इन्टरनेश्नल टाभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स –२०१८ नेपालमा आयोजना गर्ने निर्णय पनि गरेको छ । यस्तै साधारणसभाले पाटा नेपालको पोखरा च्याप्टर स्थापना गर्ने समेत निर्णय गरेको छ ।
यसैबीच पाटाले नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जना पर्यटन व्यवसायिलाई पदान गर्ने पाटा ‘पर्सनालिटी अवार्ड–२०१७’ बाट वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियानता कर्ण शाक्यलाई सम्मान गरेको छ । पाटा नेपाल च्याप्टरले यो वर्षबाट ‘बेष्ट स्टुुडेन्ट्स च्याप्टर अवार्ड’ बाट नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमको स्टुडेन्ट्स च्याप्टरलाई पदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्