३० असार २०८३, मंगलबार

विवाहेतर सम्बन्धलाई अवैध ठह–याउन इन्डोनेसियाको अदालतद्वारा अस्वीकार

मंसिर २९, २०७४
विवाहेतर सम्बन्धलाई अवैध ठह–याउन इन्डोनेसियाको अदालतद्वारा अस्वीकार

काठमाडौं, २९ मंसिर — सबै विवाहेतर सम्बन्धलाई अवैध ठह–याउनुपर्ने भनी दर्ता गरिएको मुद्दालाई एक इन्डोनेसियाली अदालतले बिहीवार खारेज गरेको छ । संसारको सबभन्दा धेरै मुसलमान बस्ने देशमा असहिष्णुता बढ्दै जाँदा व्यक्त गरिएका चिन्तामाझ अदालतको यस्तो फैसला आएको हो ।

राजधानी जकार्ताको संवैधानिक अदालतका नौमध्ये पाँच न्यायाधीशले विवाहेतर सम्बन्धलाई फौजदारी अपराध बनाउनुपर्ने मुद्दालाई अस्वीकार गरेका हुन् । 

निवेदन सफल भएको भए त्यसले अविवाहित विषमलिंगी तथा समलिंगीहरूलाई असर पार्थ्यो । तिनीहरूले इन्डोनेसियामा विवाह गर्न पाउँदैनन् । केही पुरुषहरूको समूहले समलिंगी पार्टी गरको आरोपमा पक्राउ गरिएको कैयौं महिनापछि यस्तो फैसला आएको हो । 

इस्लामिक अभियान समूह फेमिली लभ अलायन्सले न्यायिक समीक्षाका लागि निवेदन दर्ता गरेर अपराध संहितालाई परिवर्तन गर्न खोजेको थियो । 

‘उक्त निवेदन पूर्ण रूपमा खारेज गरिएको छ,’ संवैधानिक अदालतका प्रधानन्यायाधीश अरिएफ हिदायतले बताए । 

विद्यमान कानून अनुसार, इन्डोनेसियामा समलिंगी र विषमलिंगी व्यक्तिबीचको यौन नाबालक संलग्न भएमा मात्र अवैध ठहरिन्छ । 

तर समलिंगी यौनलाई पुरातनपन्थी आचेह प्रान्तमा अवैध ठह–याइएको छ । त्यहाँ शरिया कानून पालन गरिन्छ । 

सन् २०१५ मा ल्याइएको स्थानीय कानूनअनुसार समलिंगी यौनसम्बन्ध राख्ने व्यक्तिलाई सय कोर्रासम्म हान्ने सजाय दिन पाइन्छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्