
काठमाडौं, २९ मंसिर — गजबका फीचर भएका स्मार्टफोनहरूबाट मानिसले सम्झनायोग्य क्षणको भिडियो बनाउँछन् । तर कहिलेकाहीँ एक्लै हुँदा सही एंगलबाट आफ्नै भिडियो बनाउन गाह्रै पर्छ ।
त्यसैलाई ध्यानमा राखेर रोबोटिक स्टिक विकसित गरिएको छ जसले स्वचालित रूपमा तपाईंलाई ट्य्राक गरेर क्यामरा र स्मार्टफोनमार्फत भिडियो रेकर्ड गर्छ । यसबाट तपाईंले भिडियो रेकर्डिङको उम्दा अनुभव गर्नुहुन्छ ।
अमेरिकाको ट्यारो टेकले निर्माण गरेको रोबोटिक स्टिकका कारण अब ससाना समारोहमा क्यामराम्यानलाई बोलाइरहनै नपर्ने भएको छ ।
रोबोटिक स्टिकको उपयोग गर्नका लागि प्रयोगकर्ताले कुनै समतल ठाउँमा स्ट्यान्डका साथ सेट गर्नुपर्छ । यसमा एउटा ट्य्राकिङ मोड्युल दिइएको हुन्छ जसमा इन्फ्रारेड क्यामरा लगाइएको हुन्छ । त्यसले प्रयोगकर्ताको चाललाई पत्ता लगाएर घुमीघुमी भिडियो बनाउन सहायता गर्छ । 
निर्माता कम्पनीले यसको फरक फरक मोडल उपलब्ध गराउने भएको छ जसमा क्यामरा र स्मार्टफोनलाई अट्याच गर्ने विकल्प पनि रहनेछ ।
ट्यारो रोबोटिक स्टिकलाई इन्फ्रारेड ट्य्राकिङ एल्गोरिदमबाट बनाइएको हो । यसले ३० क्याल्कुलेसन प्रतिसेकेन्डको गतिमा खिचिने वस्तु पत्ता लगाउँछ ।
सबभन्दा उम्दा स्मार्टफोनले पनि दुई क्याल्कुलेसन प्रतिसेकेन्ड मात्रको गतिले वस्तु पत्ता लगाउन सक्छ । तर ट्यारोले त्यसभन्दा १५ गुणा ज्यादा राम्रो तरिकाले काम गर्न सक्छ ।
यसले ८० किलोमिटरको गतिमा हिँडिरहेको वस्तुलाई रेकर्ड गर्न सक्ने बताइएको छ ।
एजेन्सी