काठमाडौं, पुस १ –मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार ७५ जिल्लाको मतगणना कार्य सकिएको छ । अब २ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मात्रै रहेको प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो विवरण अनुसार, हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार, नेकपा एमालेले ३१ लाख ३३ हजार २०३ मत, नेपाली काँग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७४ हजार ८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४ हजार ६११, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४ हजार ३३५ मत प्राप्त गरेका छन् ।