
मोरङ, १ पुस–प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै एक नम्बर प्रदेशमा मुख्यमन्त्रीको दावी गर्ने नेताहरुको संख्या बढ्दै गएको छ ।
निर्वाचन अघि एमाले केन्द्रीय सचिव योगेश भट्टराई मुख्यमन्त्रीको लागि प्रदेश सभामा उठ्ने चर्चा थियो । भट्टराई ताप्लेजुङ्गबाट प्रतिनिधिसभामा गएपछि अर्का सचिव भीम आचार्य सुनसरी १ (ख)बाट प्रदेशसभामा विजय भएका छन् । विजय पश्चात सचिव आचार्य विभिन्न सञ्चारमाध्यममार्फत मुख्यमन्त्रीको एकमात्र दावेदार आफूमात्रै भएको सन्देश प्रभाह गरिरहेका छन् ।
मुख्यमन्त्रीका अर्का दावेदार छन्, पोलिटब्युरो सदस्य शेरधन राई । उनी भोजपुर (ख)बाट निर्वाचित भएका छन् । राईले भोट माग्दा मुख्यमन्त्रीको दावेदारीको खुलेरै प्रचार गरेका थिए ।
सचिव आचार्यले आफूमात्र मुख्यमन्त्रीको दावेदार रहेको प्रचार गर्न थालेपछि शेरधन राईले पनि आफ्नो निर्विकल्प दावेदारी रहेको बताउँदै आएका छन् । आफू विवादरहित र प्रदेशको विकास गर्न एकमात्र योग्य व्यक्ति भएको राईको दावी छ ।
सचिव आचार्य नेता झलनाथ झलनाथ खनाल र राई अध्यक्ष केपी ओली निकट मानिन्छन् । दुई जनाले आ—आफ्नो प्रचारको साथै लविङमा लागे पछि अखिलका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका अर्का नेता राजेन्द्र राईले समेत मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका छन् । माधव नेपाल निकटका राजेन्द्र पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय समितिको दुई कार्यकाल केन्द्रीय अध्यक्ष चलाएका व्यक्ति हुन् । पार्टी केन्द्रीय सदस्य राईले भोजपुर(क)बाट प्रदेशसभाको लागि प्रत्यक्ष निर्वाचन जितेका हुन् ।
भीम आचार्य र शेरधन राई एकले अर्कालाई अस्वीकार गरेको खण्डमा आफू साझा उमेद्वार बन्ने राईको दावी छ । जिम्मेवारी पाए इमान्दारीपूर्वक निर्वाह गर्ने राईको भनाइ छ ।
एक नम्बर प्रदेशसभाको प्रत्यक्षको ५६ सिटमध्ये एमाले ३६, माओवादी केन्द्र १०, कांग्रेस ८, संघीय समाजवादी फोरम १ र स्वतन्त्र १ जनाले जितेका छन् । एमाले र माओवादी केन्द्रको ४६ सिट हुन्छ । प्रदेशमा ३७ समानुपातिक सहित ९३ जनाको प्रदेशसभा हुने संवैधानिक व्यवस्था छ ।